जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकद्वारा सुपर लघुवित्तको संचालक समिति निलम्बन

राष्ट्र बैंकद्वारा सुपर लघुवित्तको संचालक समिति निलम्बन

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति निलम्बन गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले हालको संचालक समितिलाई निलम्बन गरिएको जनाएको हो ।

विभागका अनुसार लघुवित्तको व्यवस्थापन समेत ‘टेकओभर’ अर्थात् नियन्त्रणमा लिई, संस्थाको व्यवस्थापनको लागि राष्ट्र बैंकबाट व्यवस्थापन समुह नियुक्त गरिएको छ । राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समुहले माघ २३ गते सोमबार बाट लघुवित्तको व्यवस्थापन संचालन गर्ने छ । राष्ट्र बैंकका उपनिर्देशक दिपक पोखरेलको जिम्मेवारीमा सहायक निर्देशक रेवती पौडेल र निरज दाहालको टिमले लघुवित्तको व्यवस्थापन सम्हाल्ने जनाइएको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्तका संस्थापक तथा सञ्चालकहरुले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायतका गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएको छ । संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरुबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको तथा निजहरुबाट संस्था सञ्चालन हुनसक्ने स्पष्ट आधार समेत नदेखिएको विभागले जनाएको छ ।

साथै, २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रूपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरु तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएको विभागले उल्लेख गरेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ग. को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधानबमोजिम संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन मिति २०७९/१०/२३ बाट राष्ट्र बैंकको नियन्त्रणमा लिई बैंकबाट “नियुक्त अधिकारी ( व्यवस्थापन समूह ) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका