जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले लघुवित्तमा निसाना साँध्दा सेयर बजारमा पहिरो, वाणिज्य बैंकलाई पनि प्रभाव पर्‍यो

राष्ट्र बैंकले लघुवित्तमा निसाना साँध्दा सेयर बजारमा पहिरो, वाणिज्य बैंकलाई पनि प्रभाव पर्‍यो

राष्ट्र बैंक लघुवित्तहरुप्रति कठोर भएपछि सेयर बजारको लयनै प्रभावित बनेको छ। अघिल्लो दिन सेयर बजारको वृद्धिविपरीत फराकिलो दरमा ओर्लिएका लघुवित्तका सेयरले बिहीबार झन्डै १० प्रतिशतले घटेका छन्।

कारोबारमा आएका सबैजसो लघुवित्तको सेयर मूल्यमा तीव्र सेलिङ प्रेसर देखिएको छ। कारोबार भएका ५८ वटा लघुवित्तका सेयरमध्ये ३०/४० वटामा नकारात्मक सर्किट नै लगाेको छ। बाँकी ९ प्रतिशतदेखि साढे ४ प्रतिशतसम्म घटेका हुन्।

लघुवित्तहरुको कर्जा सन्तुलन बिग्रिने सम्भावना सँगसँगै उनीहरलाई उधारो प्रदान गर्ने बैंक वित्तहरुमा पनि बिक्री चाप देखिन्छ। विशेषगरी वाणिज्य बैंकहरुले सहायक लघुवित्त कम्पनीहरु स्थापना गर्ने र उधारो कर्जा दिने गरेका छन्। जस कारण वाणिज्य बैंकहरुको सेयरमा पनि गम्भिर प्रभाव पर्न गएको छ। करिब १.७८ प्रतिशतले उपसमूह घट्यो। लघुवित्तहरुको कर्जा बिग्रिए प्रभाव उधारो उपलब्ध गराउने बैंकलाई पनि पर्न जान्छ।

अर्को राष्ट्र बैंकका अधिकारीहरुले लघुवित्तहरुले अनियन्त्रित ब्याजदरमा कर्जा परिचालन गरेको अभिव्यक्ति दिएका थिए। त्यसयता ओर्लिन सुरु गरेका लघुवित्तका सेयर बिहीबार पनि बेचेर उम्किनेहरुको घुँइचो अत्यधिक छ।

अधिकारीहरुले लघुवित्तमा सेयर खेलाडीको रजाइँ हुने र उनीहरुको सट्टेबाजीका लागि अवास्तविक लाभांशको प्रलोभन दिने गरेको आरोप लगाएका हुन्। जसलाई कस्‍न राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै लघुवित्तहरुको लाभांशमा थप कडाइ गरेको छ। जुन सेयर लगानीकर्ताका लागि थप प्रतिकुल व्यवस्था साबित भएको हो।

अब उप्रान्त लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा १५ प्रतिशतभन्दा बढी लाभांशको ५० प्रतिशत लाभांश रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ। यसअघि उनीहरुले २० प्रतिशतसम्म दिँदा यस्ताो व्यवस्था लागु हुँदैन थियो।

अन्य वित्तीय संस्थाबाट कर्जा लिने ग्राहकलाई पनि लघुवित्तबाट कर्जा लिन रोक लागाएको छ। निर्देशन जारी भएलगत्तै सेयर बजारमा लघुवित्तहरुको सेयरमा पहिरो गएको हो। सेयर लगानीकर्ताहरुको मनोबल एकाएक घट्दा बजार पनि स्वात्तै घटेको छ।

‘कर्जा परिचालनमा १५ प्रतिशतको क्यापले आजित लघुवित्तहरुको खस्किँदो व्यवसायले नै सेयर बजारमा प्रतिक्रिया देखाउन थालेको थियो,’ एक लगानीकर्ताले भने,’समीक्षामार्फत राष्ट्र बैंकले लचकता अपनाउन नचाहँदा लगानीकर्ता यसै पनि निरुत्साहित थिए। त्यसमाथि राष्ट्र बैंकले थपेको कठोर नीतिको परिणाम बजारमा आज देखिँदैछ।’

राष्ट्र बैंक लघुवित्त प्रति आक्रामक रुपमा प्रस्तुत हुँदा बजारको लयलाई धक्का लागेको उनी बताउँछन्। तैपनि सेयर बजारमा लगानी निरुत्साहन गर्ने राष्ट्र बैंकको मनसाय रहँदै आएको छ। ब्याजदर समायोजन हुँदै गर्दा सेयर बजारलाई उत्तेजित हुन नदिने राष्ट्र बैंकले लघुवित्तमा निसाना साँधेको लागनीकर्ताहरुको बुझाइ छ।

1540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका