जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पहिलो महिला सीईओ अनुपमा भन्छिन्– जनयुद्ध धानेर आएका हाम्रा बैंक बलिया छन्, डुब्दैनन्

पहिलो महिला सीईओ अनुपमा भन्छिन्– जनयुद्ध धानेर आएका हाम्रा बैंक बलिया छन्, डुब्दैनन्

२०७८ साल चैत २५ गते। मेगा बैंकको गेटबाट बाहिरिँदै गर्दा सीईओ अनुपमा खुन्जेलीको मन निकै तुलबुल थियो। मुहारमा छुट्टै चमक देखिन्थ्यो। पाइला हलुका थिए।

हुन पनि नेपालकै पहिलो महिला सीईओको परिचय लिएर उनी बैंकबाट विदा हुँदै थिइन्।

अनुपमालाई लिएर जनमानसमा अनेक जिज्ञासा थिए– कम उमेरमै नेपाली वाणिज्य बैंकको पहिलो महिला सीईओ बनेकी उनी अब के गर्लिन्?

जिम्मेवारीको बोझ बिसाएर निस्किँदै गर्दा उनी भने आफू र आफ्नाका लागि बाँच्ने योजना बुन्दै थिइन्। सोही अनुसार अहिले उनी बैंकिङ क्षेत्रबाट टाढा छिन्।

मेगा बैंकको सीईओ पदबाट अवकाश लिएपछि निजी जिन्दगी बाँचिरहेकी उनी ३२ वर्षपछि आफू फेरि चकचके बच्चा बनेको अनुभूति गरिरहेकी छन्।

‘बैंकबाट विदा हुँदै गर्दाको त्यो समय मेरो जीवनकै लाइटहार्टेड (उल्लासमय) क्षण थियो,’ अनुपमा सुनाउँछिन्, ‘म मेरा लागि बल्ल अब बाँच्दैछु।’

नयाँ ठाउँमा हाइकिङ/ट्रेकिङमा जानु, दौँतरीसँग घण्टौ बात मार्नु, उमेर घर्किसकेका बुबाआमासँग गफिँदै दिन बिताउनु उनको दिनचर्या बनेको छ। जुन दैनिकी उनले आजभन्दा ४ दशकअगाडि त्यागेकी थिइन्। अनि निस्किएकी थिइन् नेपालको वित्तीय इतिहासमा आफ्नो नाम लेखाउन।

‘कति छिटो समय सकिएछ। भर्खरै दादाले बैंकमा लिएर गएजस्तो लाग्छ,’ अनुपमा नोस्टाल्जिक हुन्छिन्।

३२ वर्षअगाडि बैंक टेक्दै गर्दा उनीसँग अहिलेको जस्तो उत्साह थिएन। पढाइ र भागदौडको दबाबले थिचिएकी थिइन्। त्यस्तो बेला उनलाई बैंकले नै ओत दिएको थियो। हिँड्ने बाटो कोरिदिएको थियो।

 

 

सम्पन्न परिवारकी खुन्जेलीले हुर्किंदै गर्दा विभेदको सिकार उति हुन परेन। तर, उनी आफू वरिपरि हेर्थिन्– हरेक परिवारमा घरमूली पुरुष देख्थिन्। त्यसैले सानैदेखि उनको मनमा प्रश्न खेल्थ्यो, हामी छोरीमान्छे घरमूली किन हुन नसक्ने?

सायद त्यही प्रश्नले उनलाई विद्यालयमा अरु महिला साथीहरु जसरी चुपचाप बस्न दिएन। उनी खेलमैदानमा पुग्थिन् जहाँ केटाहरु निर्धक्क खेलिरहेका हुन्थे।

सानैदेखि हँसिमजाकमा रमाउने उनको पढाइमा उति लगाव थिएन। सेन्ट मेरिज स्कुलबाट २०४१ सालमा एसएलसी परीक्षा पास गरेपछि थप दुई वर्ष पढ्नकै लागि भारतको दिल्ली गइन्।

कुन विषय पढ्ने भन्ने योजना पनि थिएन। स्कुलमा उनलाई इतिहास र भूगोल सजिलो लाग्थ्यो। उनले त्यही विषय पढ्ने निधो गरिन्। दिल्ली पुगेपछि इतिहास पढ्न गाह्रो हुने बरु कमर्स पढे सजिलो हुन्छ भन्ने सुझाव पाइन्। यसरी उनी कमर्सतिर मोडिइन्।

भिडिओ :

 

दिल्लीबाट नेपाल फर्किएपछि उनी काठमाडौंको बागबजारमा रहेको शंकरदेव क्याम्पसमा बीकममा भर्ना भइन्।

दाइ अभिनव नरसिंह राणा बेलायतबाट पढाइ सकेर नेपालमा होटल व्यवसाय सञ्चालन गरिरहेका थिए। खासमा उनैले अनुपमाको बैंकिङ करिअर सुरुवात गरिदिएका थिए।

२०४७ सालमा दाइ अभिनवसँग त्यतिबेलाको ग्रिनलेज (स्टान्डर्ड चार्र्टर्ड) बैंकमा खाता खोल्न गइन्। त्यो नै उनको करिअरको टर्निङ पोइन्ट बन्न पुग्यो।

खाता त उनले खोलिन् तर खातासँगै कर्मचारी चाहिएको छ भन्ने थाहा पाएकी उनी दाइकै करले बैंकमा सहायक टेलरको रुपमा जागिर खान थालिन्।

२०४७ सालमा ग्रिनलेज बैंकमा सहायक टेलरको रुपमा जागिर सुरु गरेकी उनले त्यसपछिका तीन दशकमा नबिल र मेगा बैंकमा उच्च तहमा बसेर काम गरिन्। र, नेपालकै वाणिज्य बैंकको पहिलो महिला सीईओ पनि बनिन्।

 

 

पढाइले धोका, गोजीमा राजीनामा
अनुपमा पढ्न भ्याउदिनँ बरु बैंककै जागिरलाई निरन्तरता दिन्छु भन्ने सोचमा त्यतिबेलासम्म रहिन्, जतिबेलासम्म उनमा बढुवाको लोभ पलाएन।

‘मलाई पढाइ बुझ्न १६ वर्ष लाग्यो,’ उनी भन्छिन्।

ग्रिनलेज बैंकमा १३ वर्ष काम गरेपछि उनी नबिलमा आइन्, ट्रेजेरी डिपार्टको म्यानेजर बनेर। नबिलमा ३ वर्ष काम गरिसकेकी उनलाई लाग्थ्यो, अब पढ्न पर्दैन अनुभवले काम गर्छ। तर पढाइ उनको प्रमोसनको बाधक बन्यो।

भन्छिन्, ‘सबै साथीहरुको प्रमोसन भयो। मेरो नहुँदा अफिसमै रोएँ र अब पढ्छु भन्ने दृढता लिएँ।’

त्यतिबेलै जागिर छोड्छु भन्ने सोच पनि उनमा नपलाएको होइन। भन्छिन्, ‘जागिर छोड्छु भन्ने लाग्यो, कतिदिनसम्म राजनीमा गोजीमा बोकेर हिँडेँ।’

प्रमोसनमा ठेस लागेपछि उनी फेरि कक्षाकोठामा फर्किन्। जहाँ उनी पहिले करले बस्थिन्। त्यतिबेला पढाइ छाडेको १० वर्ष पुगिसकेको थियो।

स्कुले जीवनमा कमजोर विद्यार्थीको मात्रै उपमा पाएकी अनुपमाले एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्टमा एमबीए टप गरिन्।

‘मलाई पढ्न सिकाएको नै बैंकले हो,’ उनी हाँस्दै सुनाउँछिन्, ‘स्कुले जीवनमा पढाइमा कमजोर म बैंकमा काम गरेको १० वर्षपछि एमबीएमा टपर भएर निस्किएछु।’

पढाइ सकेपछि बल्ल सुरु भयो, अनुपमाको सीईओ यात्रा।

 

 

मेगाले चिनाएकी अनुपमा
नबिलमा ६ वर्ष बिताएपछि अनुपमा टिमसहित मेगा बैंकमा आइन्। नबिलमा काम गर्दा ५० प्रतिशत बैंकको लाभांश बाहिर जान्थ्यो। सुरुमा नेपाल अरब बैंक थियो, लगानीकर्ता विदेशी भएकाले यो बैंकको ५० प्रतिशत लाभांश विदेश जान्थ्यो. अनुपमा सो लाभांश नेपालमै रोक्न चाहन्थिन्।

त्यतिबेलै विभिन्न जिल्लाबाट जनताले १० लाखको दरले पैसा उठाएर लगानी गरी मेगा बैंक खुल्दै थियो।

उनी भन्छिन्, ‘हामीलाई पनि अफर आयो। अनिलजीले जाने हो मेगा भन्नुभयो। म त तयार भैहालेँ।’

सुरुमा डेपुटी जनरल म्यानेजर पदमा मेगामा गएकी उनी क्रमशः डेपुटी सीईओ र त्यसपछि बैंकको सीईओ भइन्।

टेलरबाट सीईओसम्म आइपुग्दा अनुपमाले देखेको बैंक
४० को दशकमा ढड्डा पल्टाएर काम गर्ने उनी अहिले मोबाइलबाटै काम गर्नसक्ने जमानामा आइपुगेकी छिन्। सहरमा मात्रै भेटिने बैंक यो तीन दशकमा हातहातमा पुग्दाको साक्षी हुन् उनी।

भन्छिन्, ‘सेलरोटी जस्तै घुमेर लाइनमा बस्थे ग्राहकहरु, अहिले हेर्नुस् त लाइनमा बस्ने फुर्सद कसलाई? बैंक नै हातहातमा लिएर हिँडेका छौँ।’

यो तीन दशकमा ग्राहक बैंकमा नपुगेर बैंक ग्राहककोमा पुगेको, चेकबाट मोबाइलमा सरेको र परिवारभन्दा विश्वासिलो बनेको देखिन् उनले।

‘नेपालको सबैभन्दा धेरै र छिटो विकास भएको क्षेत्र नै बैकिङ क्षेत्र हो,’ उनी थप्छिन्, ‘पहिलेको तुलनामा संख्यागत रुपमा खुम्चिएका बैंकहरु पुँजीगत रुपमा भने फैलिएका छन्। यो नै ३२ वर्षमा मैले देखेको राम्रो पक्ष हो।’

२०७३ सालमा नेपाल राष्ट्रबैंकले मर्जर नीति अघि सारेसँगै झण्डै एक सय वर्षको बैंकिङ इतिहासमा ३२ पुगेको बैंकको संख्या २१ वटामा झर्यो।

‘पहिले १/२ अर्ब पुँजीका साना बैंकहरु धेरै थिए। त्यसमा निक्षेप डुब्ने जोखिम पनि उत्तिकै थियो तर अहिले त्यस्तो अवस्था छैन। एउटै बैंक ५० अर्ब पुँजीसम्मको भइसकेको छ,’ उनी भन्छिन्।

हिजो बैंकलाई विश्वास गर्न डराउनेहरु आज बैंक नै हातमा लिएर हिँडेको देख्दा गर्वले छाती फुल्छ उनको।

‘पहिला बैंक पस्न पनि सामान्य मान्छे डराउने अवस्था थियो, त्यतिबेला मोबाइलमा बैंक अटाउँछ भन्ने कुरा असम्भव नै थियो। अहिले हेर्नुस् त, कुल जनसंख्या झण्डै ३ करोड हुँदा बैंक खाता ४ करोडमाथि छ,’ उनी भन्छिन्।

बैंकहरु ग्राहकको विश्वास जित्न सफल भए पनि सुरक्षाको हिसाबमा भने अझ कमजोर नै रहेको मान्छिन् अनुपमा पनि।

‘प्रविधिमैत्री भए पनि वित्तीय क्षेत्रमा पहिलेको तुलनामा अहिले झन धेरै चुनौती र जोखिम सिर्जना भएका छन्। ‘बिग द बेटर’ भन्छन् तर रिस्क झन बढेको छ,’ उनले थपिन्।

 

 

‘बैंकहरुले रोक्न सक्छन् युवा पलायन’
अनुपमालाई लाग्छ, तीव्र गतिमा देखिएको युवा पलायनको समस्या रोक्ने अस्त्र बैंक हुन सक्छ। अर्थतन्त्रको मेरुदण्ड मानिने बैंक तथा वित्तीय क्षेत्रले अग्रसरता देखाए युवा पलायनलाई कम गर्न सकिन्छ।

अनुपमाका अनुसार सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजताको व्यवस्था गरे त्यसले रोजगारी सिर्जना गर्छ।

भन्छिन्, ‘बैंकहरु लगानीका लागि शक्तिशाली बन्दै छन्। ठूला बैंकले नेपाली लगानीमै ठूला परियोजनाहरु बनाउन सक्ने भएका छन्। सरकारले सहयोग गर्ने हो भने बैंकहरु नै युवा पलायन रोक्ने अस्त्र बन्न सक्छन्।’

१० वर्षे जनयुद्धलाई पनि धानेर यहाँसम्म आइसकेका बैंकहरु सहजै धरासायी नहुनेमा ढुक्क छिन् अनुपमा। उनलाई लाग्छ, बैंकप्रति नेपालीको विश्वास प्रगाढ छ। यो नै बैंकहरु डुब्नबाट बचाउने माध्यम हो।

‘अहिलेसम्म नराम्रा घटना वा इतिहास बैंकिङ क्षेत्रमा देखिएको छैन। यो सबैभन्दा सुखद पक्ष हो। विकसित मुलुक अमेरिकामा नै ठुल्ठूला बैंकहरु फेल भइरहँदा नेपाली बैंकहरु द्वन्द्व समेत झेलेर यहाँसम्म आइपुगेका छन्,’ उनले भनिन्, ‘बैंकिङ क्षेत्र अझै पनि तपाईं–हामीले सोचेभन्दा बलियो छ।’

यति भन्दै गर्दा पनि अनुपमा बैकिङ विकासलाई लिएर सन्तुष्ट हुने अवस्था भने नआएको बताउँछिन्।

‘३० वर्षअघि एउटै अवस्थामा रहेको भारत र नेपालको बैंकमा अहिले अकासपातालको फरक छ,’ उनी भन्छिन्, ‘भारतले दोस्रोबजार विकास गर्ने, वैदेशिक लगानी भित्र्याउन सक्नेगरी बलियो अर्थतन्त्र बनाइसक्यो। यसमा चाहिँ हामी चुकेकै हो।’

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका