जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • उधारो नउठेपछि बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढ्यो

उधारो नउठेपछि बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढ्यो

व्यापारीले उधारो तिर्न छाडेपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्ने क्रम ह्वात्तै बढेको छ । नेपालस्थित विदेशी कम्पनीका राष्ट्रिय वितरक र स्वदेशी कम्पनीले बैंक ग्यारेन्टीका आधारमा उधारो कारोबार गर्दै आएका थिए ।

विगत वर्षहरुमा केही रकम उधारो बाँकी भए पनि बैंक ग्यारेन्टी नवीकरणका लागि स्वीकृति दिने गरेको राष्ट्रिय वितरक र विभिन्न कम्पनीले अहिले भने बैंक ग्यारेन्टी दाबी गर्दै उधारो असुल गर्न थालेका छन् । उधारोमा सामान किनेका व्यवसायी सम्पर्कमा नै नआएपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नुपरेको एक व्यवसायी बताउँछन् ।

उधारो उठाउन ठूला व्यवसायीले बैंक ग्यारेन्टी दाबी गर्ने क्रम बढेपछि बैंकले नियमित साँवा ब्याज नतिरेका ऋणीलाई फोर्स लोन दिँदै रकम भुक्तानी गर्नुपरेको छ । जसका कारण बैंकहरु दबाबमा परेका छन् ।

काठमाडौं ।पहिला हामीलाई पनि बैंकले सहजै कर्जा दिन्थ्यो, जसले गर्दा २०-२५ करोड उधारो ठूलो हुन्न थियो,’ ती व्यवसायीले भने, ‘अहिले ब्याजदर बढेको छ, बैंकले थप कर्जा दिन मानेको छैन । उधारो कारोबारका कारण व्यवसायीको गोदाममा सामान पनि छैन । पैसा पनि दिन मान्नु हुन्न । जसले गर्दा बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नु हाम्रो बाध्यता हो ।’

गत वर्षसम्म महिनामा ५ देखि १० वटा बैंक ग्यारेन्टीको भुक्तानी गर्ने गरेकोमा पछिल्लो दिनमा दैनिक १० देखि १५ वटा बैंक ग्यारेन्टीको भुक्तानी गरिरहेको एक बैंकका कर्मचारी बताउँछन् ।

‘चालू आर्थिक वर्षको ८ महिनामा हाम्रो बैंकले ६ सयभन्दा बढी बैंक ग्यारेन्टीको करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । पुसयता बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढेको छ,’ ती कर्मचारीले भने, ‘अन्य बैंकमा पनि बैंक ग्यारेन्टीको भुक्तानी माग्ने क्रम बढेपछि हामीले ३ महिनादेखि नयाँ बैंक ग्यारेन्टी जारी गरेका छैनौं ।’

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार बैंक ग्यारेन्टीको भुक्तानी माग गर्दै बैंकमा पत्र प्राप्त भएको ७ दिनभित्र भुक्तानी दिनैपर्ने हुन्छ । हिताधिकारीले भुक्तानी मागेको सात दिनभित्रमा सम्बन्धित बैंकबाट भुक्तानी नपाएको प्रमाणसहित निवेदन दिएमा राष्ट्र बैंकले सम्बन्धित बैंकको खाताबाट रकम कट्टा गरी निजलाई भुक्तानी दिन सक्ने व्यवस्था एकीकृत निर्देशनमा छ ।

यस्तै, सर्वोच्च अदालतले बैंक ग्यारेन्टीको दाबी भुक्तानी तत्कालै गर्नुपर्ने नजिर प्रतिपादन गरेको छ । बैंक ग्यारेन्टीको भुक्तानीमा अदालतले हस्तक्षेप गर्नु हुँदैन भन्ने सिद्धान्त करिस्मा इम्पेक्स (वसन्त शर्मा) विरुद्ध नेसनल ट्रेडिङको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको छ ।

जसले गर्दा बैंक ग्यारेन्टी भुक्तानीका लागि फोन गरेपछि बैंकहरु आत्तिन थालेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी बताउँछन् । ‘मैले नै करिब १६ करोड रुपैयाँ बैंक ग्यारेन्टीमार्फत् दाबी गरेर उधारो असुल गरिसकेको छु,’ ती अधिकारीले भने, ‘देशभरका विभिन्न व्यवसायीले दिएको ४ सयभन्दा बढी बैंक ग्यारेन्टी मसँग छ । उधारो असुल नभएर वित्तीय व्यवस्थापन गर्न समस्या भएको छ । जसले गर्दा बैंक ग्यारेन्टीमार्फत् उधारो असुलीको काम गर्न छुटै विभाग स्थापना गरेर काम भरिरहेका छौं ।’

के हो बैंक ग्यारेन्टी ?

बैंक ग्यारेन्टी भनेको हिताधिकारी अर्थात् कुनै पनि सामान विक्रेतालाई भुक्तानीको सुनिश्चितता गराउने गरी बैंकले जारी गरेको लिखत हो । सामान खरिदकर्ताले निश्चित अवधिमा कुनै रकम भुक्तानी नगरेमा बैंकले सामान विक्रेतालाई भुक्तानी गर्छ भन्ने सुनिश्चित बैंक ग्यारेन्टीको लिखतबाट गरेको हुन्छ ।

बैंकले विक्रेतालाई रकम भुक्तानीको ग्यारेन्टी अर्थात् बैंक ग्यारेन्टी जारी गर्न बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष वा सामान खरिदकर्ताबाट निश्चित कमिसन लिएको हुन्छ । बैंकले १ महिना, २ महिनादेखि १ वर्षसम्मका लागि बैंक ग्यारेन्टी जारी गर्ने गर्छ । विक्रेता कम्पनीले नियमित भुक्तानी प्राप्त भएको जानकारी दिएका बैंकले ग्यारेन्टी नवीकरणसमेत गर्ने गर्छ ।

बैंक ग्यारेन्टी दिइएको पक्षले रकम भुक्तानी गर्न माग गर्दा बैंकले उक्त रकम भुक्तानी गरेपछि त्यस्तो पैसालाई बैंक ग्यारेन्टी दिने पक्षको नाममा कर्जा देखाउने गर्छ । त्यसरी दिइने कर्जालाई फोर्स ऋण भनिने भएकाले कर्जाको ब्याजदर महँगो हुने गर्छ । नियमित साँवा ब्याजसमेत नतिरेका ऋणीलाई फोर्स लोन दिँदै बैंक ग्यारेन्टीको भुक्तानी गर्नुपरेको एक बैंकर बताउँछन् ।

बैंकले बैंक ग्यारेन्टी जारी गर्दा पर्याप्त धितो वा अन्य सम्पत्ति राखेको छ भने बैंक ग्यारेन्टीबापत भुक्तानी गरिएको रकम असुल गर्न सहज हुन्छ । तर, केही रकम कमिसन आम्दानीका लागि सहजै बैंक ग्यारेन्टी जारी गर्ने गरेका बैंकलाई भने बढ्दो बैंक ग्यारेन्टी दाबी भुक्तानीले समस्या पर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको ८ महिनामा गत वर्षभन्दा २० प्रतिशतले आयात घट्दा आर्थिक कारोबार बढ्न सकेको छैन । यस्तै विगतमा उधारोमा किनेको सामान बिक्री गर्दा आएको पैसा घरजग्गा वा उपभोगमा खर्च भइसकेकाले पनि साना व्यापारीले पैसा चुक्ता गर्न सकेको छैनन् ।

बैंक ग्यारेन्टी नलिई कारोबार गरेका ठूला कम्पनी र राष्ट्रिय वितरकलाई पैसा असुल गर्न समस्या भइरहेको अवस्थामा बैंक ग्यारेन्टी लिएका कम्पनीले भने बैंकमार्फत उधारो असुल गरिरहेका छन् ।

‘चैतपछि बैंक ग्यारेन्टी भुक्तानीका लागि दाबी गर्ने क्रम अझै बढ्छ,’ एक व्यवसायीले भने, ‘चैतमा महासंघको निर्वाचन भएकाले पनि राष्ट्रिय वितरक र उत्पादनमूलक कम्पनी केही सुस्त देखिएका हुन् ।’

 

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका