जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लघुबीमाबारे अध्ययन गर्दै समिति

लघुबीमाबारे अध्ययन गर्दै समिति

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको हो । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

अध्ययन समितिले गत बिहीवारदेखि काम शुरू गरिसकेको छ । त्यस समितिले २० दिनभित्र अध्ययन सकेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमासम्बन्धी अध्ययन गर्न कार्यदल बनाएको बताए । ‘लघुबीमाको दायरा अझै पनि विस्तार हुन सकेन । त्यसैले यस विषयमा अध्ययन गर्न कार्यदल बनाएका हौं,’ उनले भने, ‘कार्यदलले लघुबीमाको विस्तारमा केकस्ता समस्या छन् भनेर अध्ययन गरिनेछ । साथै, लघुबीमाको व्यवसाय विस्तार गर्न केकस्ता काम गर्नुपर्छ भन्ने विषयमा पनि अध्ययन समितिले सुझाव दिनेछ ।’

हाल नेपालमा बीमाको पहुँच २३ प्रतिशत जनतामा रहेको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा त्यो ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्ति गर्न समितिले विभिन्न काम गर्दै आएको छ । सोही क्रममा समितिले लघुबीमाको दायरा बढाउने गरी अध्ययन अगाडि बढाएको हो ।

‘लघुबीमाको दायरा बढाउन सके बीमाको पहुँच पनि बढाउन सकिन्छ । तर, नेपालमा अझै लघुबीमाको दायरा बढ्न सकेन,’ उनले भने, ‘त्यसैले लघुबीमाको दायरा बढाउने उद्देश्यअनुसार यस विषयमा अध्ययन प्रक्रिया अगाडि बढाएका हौं ।’

लघुबीमा कम्पनीलाई इजाजतपत्र दिने गरी भने अध्ययन प्रक्रिया अगाडि नबढाएको कार्यकारी निर्देशक पौडेलले बताए । ‘लघुबीमा कम्पनीलाई लाइसेन्स बाड्ने हेतुले यो अध्ययन अगाडि बढाएका होइनौं,’ उनले भने, ‘अध्ययनले लघुबीमाका लागि छुट्टै कम्पनी स्थापना गर्नुपर्ने देखायो भने त्यो पनि हुन सक्छ । तर, अहिले नै त्यो विषयमा केही विचार गरेका छैनौं ।’ लघुबीमाको विषयमा बीमाक्षेत्रमा आबद्ध नभएका स्वतन्त्र व्यक्तिबाट पनि अध्ययन गर्ने तयारी गरेको उनको भनाइ छ ।

6035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका