जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • हिमालयन स्टक एक्सचेन्ज’ले माग्यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स

हिमालयन स्टक एक्सचेन्ज’ले माग्यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सको माग गर्दै ‘हिमालयन स्टक एक्सचेन्ज’ (एचएसएक्स) ले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । व्यावसायिक घराना शंकर समूहको अगुवाइमा नेपालका ठूला व्यावसायिक घरानाहरु संलग्न भएर बनेको ‘हिमालयन स्टक एक्सचेन्ज’ ले स्टक एक्सचेन्जको लाइसेन्स माग गर्दै बोर्डमा आवेदन दिएको हो । यो स्टक एक्सचेन्जका लागि परेको पहिलो आवेदन हो ।

हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको एक्सचेन्जले लाइसेन्सका लागि बोर्डमा आवेदन दिएको हो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

स्टक एक्चेन्जसँगै वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को लाइसेन्सको लागि आवेदन दिने अवधि १० वैशाख २०७९ सम्म छ । शुक्रबारसम्म स्टक एक्सचेन्जको हिमालयन स्टक एक्सचेञ्जको नामबाट एउटा मात्रै आवेदन परेको हो ।

यस्तै वस्तु विनियम बजारको लागि भने शुक्रबारसम्म आवेदन परेको छैन । स्टक र कमोडीटी एकसचेन्जका लागि आवेदन दिने अवधि आगामी आइतबारसम्म छ ।

नेपाल धितोपत्र बोर्डले २६ भदौ, २०७९ मा धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को दोस्रो संशोधन गरेको थियो । सोही नियमावली संशोधनपछि बोर्डले २ असोजमा स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज कम्पनी र धितोपत्र दालाल व्यवसायीका लागि आवेदन माग गरेको थियो ।

तर, सर्वोच्च अदालतमा अधिवक्ता दिपक विक्रम मिश्रले उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै रिट दर्ता गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले ४ कात्तिकमा अन्तरिम आदेश दिंदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

तर, गत चैत अन्तिम साता न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासबाट सर्वोच्चले उक्त रिट खारेज गरेपछि लाइसेन्सको प्रक्रिया अगाडि बढेको थियो ।

यसअघि शंकर ग्रुपकै नेतृत्वमा यही व्यवसायिक समूहले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाइसेन्स पनि पाएको थियो । बीमा प्राधिकरणले २०७८ जेठमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको थियो । त्यतिबेला काठमाडौं रि-इन्स्योरेन्स, अन्नपूर्ण रि-इन्स्योरेन्स, प्रुडेन्सियल रि-इन्स्यारेन्स र हिमालय रि-इन्स्योरेन्स र जेन्युन रि-इन्स्योरेन्सले लाइसेन्स माग गर्दै निवेदन दिएका थिए ।

तर, शंकर समूहको मुख्य लगानी रहने गरी दुगड, खेतान समूहसहित शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा समेतको लगानी रहेको ‘हिमालयन रि’ले लाइसेन्स पाएको थियो ।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?