
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधारदर औसत २.२१ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तमा बैंकहरूको औसत आधारदर ९.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा गत वर्षको तुलनामा बैंकहरूको आधादर औसत ११.८६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औसत आधारदर १०.७३ प्रतिशत बिन्दु थियो ।
बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्षको तुलनामा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत ११.८६ प्रतिशत घटेको देखिन्छ ।
दोस्रो त्रैमासमा सबैभन्दा धेरै घटाउने र कम आधारदर भएको बैंक स्ट्यान्डर्ड चार्टड देखिएको छ । चालु आवको पुसमा यस बैंकको आधारदर घटेर २.२१ प्रतिशत बिन्दु घटेर ७.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतमा बैंकको आधारदर २२.८५ प्रतिशत घटेको हो ।

यस्तै, प्रभु बैंकको १७.६५ प्रतिशत घटेर ९.४२ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १४.५५ प्रतिशत घटेर ८.६९ प्रतिशत बिन्दु, सानिमा बैंकको १४.४५ प्रतिशत घटेर ९.२९ प्रतिशत, माछापुच्छ्रे बैंकको १४.१३ प्रतिशत घटेर ९.७८ प्रतिशत बिन्दु र सिटिजन्स बैंकको १३.८७ प्रतिशत घटेर ९.८१ प्रतिशत बिन्दुमा आधार दर झारेका हुन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ११.१९ प्रतिशत घटेर ८.२५ प्रतिशत बिन्दु, नेपाल बैंकको १३.६३ प्रतिशत घटेर ८.५५ प्रतिशत बिन्दु, नबिल बैंकको १०.१९ प्रतिशत घटेर ९.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६९ प्रतिशत घटेर ९.४१ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ८.६२ प्रतिशत घटेर ९.५३ प्रतिशत बिन्दुमा आधारदर झरेको छ ।
ग्लोबल आइएमई बैंकको ११.११ प्रतिशत घटेर ९.६ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकको १०.१३ प्रतिशत घटेर ९.६६ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको १२.१५ प्रतिशत घटेर ९.६८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ११.२१ प्रतिशत घटेर ९.९२ प्रतिशत बिन्दु, एनएमबि बैंकको ६.८३ प्रतिशत घटेर ९.९५ प्रतिशत बिन्दु र लक्ष्मी सनराइज बैंकको १२.१२ प्रतिशत घटेर ९.९९ प्रतिशत बिन्दुमा आधारदर झरेको छ ।
समीक्षा अवधिमा हिमालयन बैंक, प्राइम बैंक र कुमारी बैंकको आधारदर दोहोरो अंकमा छ । सबैभन्दा धेरै आधारदर भएको बैंकका रुपमा हिमालय बैंक देखिन्छ । हिमालयन बैंकको आधारदर २.४८ प्रतिशत घटेर १०.५९ प्रतिशत बिन्दुमा छ । यस्तै, प्राइम बैंकको ८.४६ प्रतिशत घटेर १०.३८ प्रतिशत बिन्दु र कुमारी बैंकको १२.३६ प्रतिशत घटेर १०.२९ प्रतिशत बिन्दु छ ।
बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































