शेयर बजार
बुढानिलकण्ठ हेरिटेजले पनि आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा बुढानिलकण्ठ हेरिटेजको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरुको ८५ करोड रुपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
अन्र्तराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्सलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । लेमन ट्री होटल्स एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर-मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ ।
यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्सले नेपालमा पहिलो होटलको रुपमा “लेमन ट्री प्रिमियर बुढानिलकण्ठ” काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातीप्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।