जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सेबोन अध्यक्ष कानुन अनुसार नै छनोट हुने अर्थमन्त्रीको जवाफ, ‘कुनै पार्टीले चाहेर हुँदैन’

सेबोन अध्यक्ष कानुन अनुसार नै छनोट हुने अर्थमन्त्रीको जवाफ, ‘कुनै पार्टीले चाहेर हुँदैन’

अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष कानुन अनुसार नै छनोट हुने बताएका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका क्रममा सांसदका प्रश्नको जवाफ दिंदै पौडेलले कानुन अनुसार नै अध्यक्ष छान्ने बताएका हुन्।

‘नेपाल धितोपत्र बोर्डले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधि बमोजिम अध्यक्षको नियुक्ति हुन्छ। यसमा कसैले प्रभावित पार्ने भन्ने छैन। बाहिर आएकै हल्लाका भरमा धारणा बनाउन आवश्यक छैन,’ उनले भने।

पौडेलले सेबोन अध्यक्ष दल विशेष नभइ सिफारिस समितिले गर्ने सिफारिसका आधारमा नियुक्त हुने दाबी गरे। ‘धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले सिफारिस गरे अनुसार बोर्ड अध्यक्ष नियुक्ति हुन्छ, कुनै पार्टीले चाहेर हुने कुरा होइन। निर्णय प्रक्रिया पारदर्शी हुन्छ,’ उनले भने।

सेबोन गत पुस अन्तिमदेखि कार्यकारी अध्यक्षविहीन छ। तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरु गरेको प्रक्रिया नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने दाउमा रहेका व्यापारिक घराना र राजनीतिक नेतृत्वका कारण वर्षमान पुनका पालामा विवादित बन्न पुगेको थियो। यो विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

अदालतमा विचाराधीन भउकै कारण पौडेलले अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएका छैनन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने होडमा रहेका व्यापारिक घरानाले बोर्डमा आफूअनुकूलको अध्यक्ष ल्याउन राजनीतिक नेतृत्वलाई समेत प्रयोग गर्न खोजेपछि नियुक्ति प्रक्रिया नै विवादित बन्न पुगेको हो।

मन्त्री पौडेलले सेयर बजारलाई परिपक्व र अनुशासित ढंगले विकसित गर्नु पर्छ भन्ने सरकारको धारणा रहेको बताए।

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका