जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • बैंकहरुलाई लाग्यो दसैं, धमाधम ल्याउन थाले सस्तो ब्याजमा घर र गाडी कर्जाको स्किम

बैंकहरुलाई लाग्यो दसैं, धमाधम ल्याउन थाले सस्तो ब्याजमा घर र गाडी कर्जाको स्किम

चाडपर्व नजिकिंदै गर्दा बैंकहरूले आकर्षक कर्जा प्याकेज ल्याउन थालेका छन्। उपभोक्ताको बढ्दो खर्च गर्ने क्षमताको फाइदा उठाउन बैंकहरूले विभिन्न सुविधासहित ऋण योजना ल्याउन थालेका हुन्।

दुई वर्षदेखि ऋण विस्तारमा खासै चासो नदेखाएको माछापुच्छ्रे बैंकले बुधबार कम ब्याजदरको योजना घोषणा गरेको छ। बैंकले आफ्नो आधार दरकै हाराहारीमा ऋण प्रदान गर्ने घोषणा गरेको हो। बैंकले तीज, दसैँ, तिहार र छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर योजना ल्याएको हो।

‘अब हामीले ऋण दिन सुरु गर्यौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, ‘हामीसँग अब ऋण दिने स्पेस पनि बन्यो।’

नयाँ योजना अन्तर्गत माछापुच्छ्रे बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम थपेर घर कर्जा प्रदान गर्दैछ। घर कर्जा लिएका ग्राहकले त्यही दरमा सवारी कर्जा पनि लिन सक्नेछन्। 

१ करोड रुपैयाँसम्मका साना तथा मझौला कर्जाका लागि बैंकले आधार दरभन्दा १ प्रतिशत बढी दरमा ऋण उपलब्ध गराउने जनाएको छ। यी कर्जाहरूको सेवा शुल्कमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।

अन्य बैंक तथा वित्तीय संस्थाहरूले मध्यमवर्गीय परिवारहरूलाई आकर्षित गर्न घर र सवारी कर्जामा ब्याजदर र सेवा शुल्क घटाउँदै यस्तै नयाँ योजना ल्याइरहेका छन्।

प्रमुख चाडपर्वहरू दसैँ र तिहारको समयमा धेरै नेपालीहरूको खर्च गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ। तलबी कर्मचारीहरूले चाडपर्व भत्ता पाउँछन्। निजी क्षेत्रमा काम गर्नेहरूले नाफाको हिस्सा पनि पाउन सक्छन्। विदेशमा काम गर्ने वा अध्ययन गर्ने नेपालीहरूले यस अवधिमा घरमा थप रकम पठाउने गर्छन्।

यसमा सांस्कृतिक पक्ष पनि जोडिएको छ। चाडपर्वको समयमा सम्पत्ति जोड्नुपर्छ भन्ने मान्यता छ। बैंकहरूले आफ्ना योजनाहरूमा यही मानसिकतालाई लक्षित गरिरहेका छन्।

हालको परिदृश्य गत वर्षको तुलनामा फरक छ, पोहोर ऋण विस्तार सीमित थियो। ऋणको ब्याज पनि महँगो थियो। यसपालि सात/साढे सात प्रतिशत ब्याजमै ऋण पाइने अवस्था बनेको छ।

‘हामीसँग ऋणका लागि  इन्क्वाइरी आउन थालेको छ। साना उपभोक्ता ऋण पनि जान थालेको छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘ब्याजदर घटेको छ। ऋणीहरू यसको फाइदा लिन उत्सुक देखिन्छन्।’

केही बैंकहरूले आफ्ना स्किमलाई स्पष्ट रूपमा चाडपर्वसँग जोडिरहेका छन् भने केहीले घर र सवारी कर्जाका लागि कम ब्याजदरका प्रडक्टहरु मात्र पेस गरिरहेका छन्। अहिले चलिरहेको नाडा अटो शोले बैंकहरूलाई आफ्ना सवारी कर्जा योजना प्रवर्धन गर्न अर्को मञ्च प्रदान गरेको छ, जसमा केहीले ग्राहकहरूलाई आकर्षित गर्न निश्चित अवधिका लागि स्थिर ब्याज दरको ग्यारेन्टी समेत दिइरहेका छन्।

बैंकहरु ऋण दिन प्रोत्साहित हुनुको पछाडि नियामकीय सहजीकरण पनि हो। माछापुच्छ्रे बैंक लामो समयदेखि पुँजी कोष दबाबमा थियो। नियामकीय सुविधामार्फत आफ्नो वित्तीय स्वास्थ्य सुदृढ गरेपछि मात्र बैंकले आधिकारिक रूपमा आफ्नो ऋण विस्तार योजनाको घोषणा गरेको हो। अन्य बैंकको हकमा पनि त्यही भएको छ।

90
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका