जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सन नेपालको सेयरमा घप्लाबाजी गरेको सीइओबाट स्वीकार

सन नेपालको सेयरमा घप्लाबाजी गरेको सीइओबाट स्वीकार

सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले कर्मचारीका लागि आरक्षित सेयरमा घप्लाबाजी भएको स्वीकार गरेका छन्। इन्स्योरेन्सका सञ्चालक र सीइओ राजकुमार अर्यालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उपस्थित भएर कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा गल्ती भएको स्वीकार गरेका हुन्। आरक्षित सेयर बाँडफाँटका क्रममा आफूहरुमाथि अन्याय गरिएको भन्दै कम्पनीका केही कर्मचारीले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी दिएका थिए।

सेबोनले आफ्नो अनुसन्धानका क्रममा कर्मचारीका लागि आरक्षित ४ लाख ८० हजार कित्ता सेयरमध्ये ८० प्रतिशत सीइओ अर्यालले लिएको पाइएपछि थप अनुसन्धान गर्न सीआइबीमा फाइल पठाएको थियो। सीआइबीको प्रारम्भिक अनुसन्धानमा पनि अधिकांश सेयर सीइओको नाममा राखेको पाइयो। अरु कर्मचारीका नाममा सेयर निकै न्यून संख्यामा देखियो। त्यसपछि सीआइबीले कम्पनीका सञ्चालक र सीइओलाई बोलायो।

‘सञ्चालक र सीइओले नै कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा कमजोरी भएको स्वीकार गरे। उनीहरुले गल्ती सच्याउने प्रतिबद्धता जनाउँदै १५ दिनको समय मागे। त्यसपछि हामीले बरु २० दिन लिनुस् तर गल्ती सच्याउनुस् भनेर छोडिदियौं,’ सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘कानुनमा सेयर एकलौटी गर्नेलाई के कारबाही गर्ने भन्ने रहेनछ। त्यही लुपहोलमा खेल्ने काम भएको देखियो। व्यवस्था नभएकाले हामीले पनि उनीहरुलाई समय दिएका हौं।’

सन नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षअघि आइपीओ बाँडफाँट गरेको थियो। कम्पनीको सेयर अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ। तर कर्मचारीका लागि आरक्षित सेयर भने तीन वर्षसम्म दोस्रो बजारमा कारोबार गर्न पाइँदैन। लकइन पिरियड तीन वर्ष हुन्छ।

त्यसो भए सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक र सीइओले गल्ती कसरी सच्याउँछन् त?

नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले गल्ती स्वीकार गरेको अवस्थामा अहिले सच्याउने निर्णय गरी लकइन अवधिपछि मिलाउन सकिने बताए। ‘सञ्चालक र सीइओले ने गल्ती स्वीकार गरेको हो भने उनीहरुले सञ्चालक समितिबाट निर्णय गर्नुका साथै सीइओले कर्मचारीसँग सम्झौता गर्न सक्छन्। लकइन अवधि सकिएपछि सम्झौता अनुसार सीइओको नाममा रहेको सेयर अरु कर्मचारीको नाममा गर्न मिल्छ,’ पराजुलीले भने।

कम्पनीका सञ्चालक र सीइओलाई एक साताअघि सोधपुछका लागि बोलाएको सीआइबीको अनुसन्धान सकिएको छैन। सीआइबी सच्याउने आधिकारिक कागजको पर्खाइमा छ। ‘हामी कम्पनीका सञ्चालक र सीइओले सेयर बाँडफाँटमा भएको गल्ती कसरी सच्याउँछन् भन्ने पर्खिरहेका छौं,’ सीआइबीका प्रवक्ता बोगटीले भने, ‘प्रतिबद्धता अनुसार काम गरे/नगरेको बुझ्न फेरि बोलाउँछौं। हामीले यो विषयको अनुसन्धान क्लोज गरेका छैनौं।’

सन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २०८० जेठ २५ गते कानुन अनुसार कुल आइपीओको ५ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याउने निर्णय गरेको थियो। कुल ९६ लाख कित्ता आइपीओमध्ये कर्मचारीका लागि ४ लाख ८० हजार कित्ता छुट्ट्याइएकामा त्यसको २० प्रतिशत अरु कर्मचारीलाई दिएर ३ लाख ८४ हजार कित्ता सीइओ अर्यालको नाममा राखिएको थियो।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा संगठित संस्थाले कुल आइपीओको ५ प्रतिशतसम्म संस्थामा कार्यरत स्थायी कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। करार र ज्यालादारी कर्मचारीले भने पाउँदैनन्।

निर्देशिकामा कम्पनीमा कार्यरत कर्मचारी संख्याका आधारमा २ देखि ५ प्रतिशतसम्म आइपीओ छुट्याउनुपर्ने भनिएपनि कर्मचारीभित्र कसरी वितरण गर्ने भन्ने उल्लेख छैन। कानुनमा स्पष्ट व्यवस्था नभएको फाइदा उठाउँदै सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक र सीइओ राजकुमार अर्यालको मिलेमतोमा आरक्षित सेयरमा घप्लाबाजी गरिएको हो।

सीइओ अर्यालको नाममा ८० प्रतिशत सेयर राखेको तथ्य सेबोन र सीआइबीको अनुसन्धानबाट खुलेपछि यो प्रकणमा नयाँ रहस्य खुल्न सक्ने अड्कल गरिएको छ।

नियामक नेपाल बीमा प्राधिकरण र सेबोनका पदाधिकारीलाई ‘घुस’बापत दिनका लागि कर्मचारीले पाउनुपर्ने सेयर आफ्नो नाममा राख्नुपरेको अर्यालले सेबोनका अनुसन्धान अधिकृतहरुसँग अनौपचारिक कुराकानीमा बताएको स्रोतले बताएको छ।

‘सीआइबीले गल्ती सच्याउन लगाएर जिम्मेवारी पूरा गरेको ठान्ने भन्दा पनि ८० प्रतिशत सेयर सीइओको नाममा राख्नुको कारण खोतल्नतिर अनुसन्धान केन्द्रित गर्‍यो भने सबै रहस्य खुल्छ,’ स्रोतले भन्यो।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका