
अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलको उत्पादनको क्रेज, विशेषगरी आईफोनको क्रेज विश्वभरि बढ्दै गएको छ । संसारका धेरै देशमा यो कम्पनीको फोन सबैभन्दा बढी प्रयोग गरिन्छ ।
भारतमा पनि यो प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । कम्पनीले नयाँदिल्ली र मुम्बईमा पनि आफ्नो स्टोर खोलेको छ । तर, भारतमा अहिले ५ प्रतिशतले मात्रै एप्पल प्रयोग गर्छन् भने धेरै देशमा आधाभन्दा बढी जनसंख्यासँग आईफोन छ ।
एप्पल अमेरिकी कम्पनी भए पनि त्यहाँ ५१ प्रतिशतले मात्रै आईफोन प्रयोग गर्छन् । अमेरिकामा २७ प्रतिशतले दक्षिण कोरियाली कम्पनी सामसङको फोन प्रयोग गर्छन् भने २२ प्रतिशतले अन्य ब्रान्डका फोन प्रयोग गर्छन् ।
आईफोनको बढी प्रयोग गर्नेमा जापान पहिलो स्थानमा छ । यो देशका ५९ प्रतिशत मानिससँग आईफोन छ । जापानमा ९ प्रतिशतले सामसङको फोन प्रयोग गर्छन् भने ३२ प्रतिशत जनतासँग अन्य कम्पनीका फोन छन् ।
त्यस्तै, क्यानडामा ५६ प्रतिशत र अस्ट्रेलियामा ५३ प्रतिशतले आईफोन प्रयोग गर्छन् । यद्यपि, यी देशको जनसंख्या अमेरिकाभन्दा निकै कम छ ।
भारतमा ५ प्रतिशतले मात्र आईफोन प्रयोग गर्छन् भने १९ प्रतिशतसँग सामसङ फोन छन् । देशका ७६ प्रतिशत मानिसले शाओमी, भिभो र ओप्पो जस्ता चिनियाँ कम्पनीका फोन प्रयोग गर्छन् ।
चाखलाग्दो कुरा के छ भने चीनमा पनि ७६ प्रतिशत मानिसहरूले शाओमी, भिभो र ओप्पोका फोनहरू प्रयोग गर्छन् ।
बेलायतमा एप्पल आईफोन प्रयोग गर्ने मानिसको जनसंख्या ४८ प्रतिशत, चीनमा २१ प्रतिशत, जर्मनीमा ३४ प्रतिशत, फ्रान्समा ३५ प्रतिशत, दक्षिण कोरियामा १८ प्रतिशत, अस्ट्रेलियामा ५३ प्रतिशत, ब्राजिलमा १६ प्रतिशत, इटालीमा ३० प्रतिशत, रुसमा ३० प्रतिशत, मेक्सिकोमा २० प्रतिशत र स्पेनमा २९ प्रतिशतसँग आईफोन छ । एजेन्सी
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































