जोडिनुहोस
मङ्लबार, कार्तिक ६, २०८१
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • नेपालमा समावेशी बीमालाई अगाडि बढाउनु आवश्यकः अध्यक्ष सिलवाल

नेपालमा समावेशी बीमालाई अगाडि बढाउनु आवश्यकः अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा अब सबैका लागि जरुरी रहेको बताएका छन्। उनले यसका लागि समावेशी बीमालाई अगाडि बढाउन जरुरी रहेको पनि बताए। काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी २० औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले बीमा सबैका लागि आवश्यक रहेको बताएका हुन्। ‘कसैले भन्छ मसँग पैसा छ तर म बीमा गर्दिनँ, मलाई विश्वास छैन। कसैले भन्छ मसँग पैसा छैन, त्यसैले म बीमा गर्न सक्दिनँ’, उनले भने, ‘बीमा सबैका लागि आवश्यक छ तर अझै पनि मानिसहरुलाई जनचेतना जगाउन आवश्यक देखिएको छ।’

सबैलाई बीमाको पहुँचमा पुर्याउन तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने सिलवालको भनाइ थियो। ‘म सातै प्रदेश पुगेको छु। त्यहाँका दुर्गम क्षेत्रमा पनि गएको छ। बीमा भन्ने कुरा सबैलाई थाहा छ। तर, बीमा किन गर्ने भन्नेबारे उनीहरुलाई बुझाउन जरुरी छ’, उनले भने।

अध्यक्ष सिलवालले पैसा हुने मान्छेलाई स्थानीय सरकारले बीमा अनिवार्य गराउन आवश्यक बताए। ‘न्यून आय भएकालाई भने सरकारले नै आवश्यक सहयोग गरेर बीमामा समेट्नुपर्छ’, उनले भने।

काठमाडौंमा जारी समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालमा बीमाको पहुँच बढाउन आवश्यक रणनीति बनाउन फलदायी साबित हुने अध्यक्ष सिलवालको विश्वास छ। ‘विश्वमा भइरहेका समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिबारे जान्न यो सम्मेलन नेपालका बीमकका लागि उचित अवसर हुनेछ’, उनले भने।

गत असोज दोस्रो साताको वर्षापछि सिर्जित बाढीपहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै सिलवालले आफूहरुले दुई वर्षपहिले यस्तै अवस्था आउँदा सरकारलाई ठूला संरचनाको बीमा गराउन आवश्यक रहेको अवगत गराएको बताए। ‘अहिले अर्बौंको क्षति भएको छ। तर, ठूलो संरचनाको बीमा नगर्दा सरकार आफैँलाई भार भएको छ’, उनले भने।

पत्रकार सम्मेलनमा नेपाल बीमक संघका अध्यक्ष एवं सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले कृषि क्षेत्रमा बाढीपहिरो भएको क्षति पुर्याएको बताए। ‘तर, हामीसँग ट्रक गर्ने प्रणाली छैन, त्यसैले वास्तविक क्षतिको यकिन विवरण आउन सकेको छैन’, उनले भने, ‘विश्वका अन्य क्षेत्रमा कृषिमा पुगेको क्षतिको ट्रयाक गर्ने व्यवस्था छ, त्यसैले त्यहाँ तत्कालै कति क्षति भयो भन्ने यकिन विवरण आउँछ। अब सम्बन्धित सरकारी निकाय र बीमा प्राधिकरण मिलेर त्यस्तो प्रणालीको विकास गर्नुपर्छ।’

यसैगरी माइक्रोइन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो चानले बीमाको प्रिमियम थोरै वा धेरै भन्ने कुरा नहुने बताए। ‘बीमाको प्रिमियम कसैलाई थोरै लाग्न सक्छ, कसैलाई धेरै लाग्न सक्छ’, उनले भने, ‘तर, समावेशी बीमाको मुख्य उद्देश्य भएको बीमाको प्रिमियम सबैले तिर्न सक्ने हुनुपर्छ भन्ने हो।’

पत्रकार सम्मेलनमा जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफका सीईओ पोषकराज पौडेलले यो अन्तर्राष्ट्रिय सम्मेलन सबैका लागि उपयोगी हुने बताए। ‘अन्तर्राष्ट्रिय विज्ञहरुबाट समावेशी बीमाका बारेमा आवश्यक ज्ञान र रणनीति बनाउन यो सम्मेलन फलदायी साबित हुनेछ’, उनले भने।

कम्पनीहरुले दाबी भुक्तानी छिटो दिएमा बीमाप्रति मानिसको विश्वास बढ्ने चानले बताए। ‘सबै कुरा डिजिटल प्रविधिमार्फत भयो भने दाबी भुक्तानी, प्रिमियम कलेक्सनलगायतका काम छिटो हुन्छ’, उनले भने।

कार्यक्रममा म्युनिख रि फाउन्डेसनका उपाध्यक्ष ड्रिक रिइन्हार्डले लघुबीमामार्फत समावेश बीमालाई अगाडि बढाउन सकिने बताए। ‘नेपालमा समावेशी बीमा अगाडि बढाउन आवश्यक छ, यसका लागि लघु बीमालाई अघि सार्न सकिन्छ’, उनले भने।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रि फाउन्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा आयोजित सम्मेलन कात्तिक ९ गतेसम्म चल्नेछ। सम्मेलनमा नेपाललगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु ४४ देशका ४०० जनाभन्दा बढी विज्ञ सहभागी छन्।

सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुनेछ । जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोध हटाउनेसम्बन्धी रणनीतिलगायतका विषयमा सहभागीबीच छलफल केन्द्रित हुनेछ।

सम्मेलनमा २५ वटा सत्रमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवं अवलम्बनजस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रमाथि छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

समाजमा आर्थिक रुपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगको वित्तीय जोखिम न्यूनीकरण गर्न समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने आयोजकको विश्वास छ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका हुन्। उद्घाटनका क्रममा उनले सम्मेलन बीमा क्षेत्रका लागि फलदायी साबित हुने विश्वास व्यक्त गरे। उद्घाटन कार्यक्रममा विदेशी निकायका प्रतिनिधिहरुले लघुबीमा र समावेशी बीमाबीचको अन्तरसम्बन्धका विषयमा प्रकाश पारेका थिए।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?