मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो मोवाईल बैंकिङ्ग सेवाको स्तरोन्नति गर्दै ‘मुक्तिनाथ फाइदा एप’ (FAIDA: Financial Access in Digital Application) सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ्गलाई थप सहज, सुरक्षित र सर्वसुलभ बनाउने उद्देश्यसहित विकसित यो एपले ग्राहकलाई घरमै बसेर विभिन्न बैंकिङ्ग सेवा उपयोग गर्नसक्ने वातावरण तयार गरेको छ।
बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार एप डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ। यसले ग्राहकलाई सरल र सुरक्षित तरिकाले सेवा लिन सक्षम बनाउनेछ। एपले अनधिकृत पहुँच रोक्नका लागि विशेष सुरक्षा उपायहरू लागू गरेको छ। ग्राहकले सुरक्षा प्रश्नहरू राख्न सक्नेछन् भने एपमा प्रयोग हुने डिभाइसको पहिचान प्रणालीले ग्राहकको खाता सुरक्षित बनाउनेछ।
यो एप प्रयोगकर्ताले एउटै पासवर्डबाट मोबाइल र वेबमार्फत सुरक्षित रूपमा आफ्नो खाताबाट कारोबार गर्न सक्नेछन्। एपमा विभिन्न सुविधाहरू उपलब्ध छन्। ग्राहकले विभिन्न बिल भुक्तानी गर्न, नगद जम्मा भौचर तयार गर्न, एटीएम कार्ड नवीकरण गर्न, इ-कमर्स कार्ड सक्रिय गर्न, विदेशी मुद्रा विनिमय दर र व्याजदरको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, आम्दानी र खर्चको ग्राफ हेर्न तथा अन्य धेरै सुविधा उपयोग गर्न सक्नेछन्।
बैंकले डिजिटल सेवा मात्र नभई नेपालकै पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको छ। मंसिर महिनाभित्र इकाई बिक्रीमा ल्याउने योजना रहेको यो कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेका छन्।
डिजिटल बैंकिङ्गलाई सहज र प्रभावकारी बनाउँदै वित्तीय सेवामा नवीनता ल्याउने लक्ष्यसहित बैंकले उठाएका यी कदमहरूले बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।