जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • तीन महिनामा १४ निर्जीवन बीमा कम्पनीद्वारा सवाँ चार अर्ब रुपैयाँ दावी भुक्तानी

तीन महिनामा १४ निर्जीवन बीमा कम्पनीद्वारा सवाँ चार अर्ब रुपैयाँ दावी भुक्तानी

नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा चार अर्ब २४ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा आफ्ना बीमितहरुलाई सो दावी भुक्तानी गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा दावी भुक्तानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६९ प्रतिशतले गिरावट आएको छ । गत आवमा कम्पनीहरुले पाँच अर्ब २१ करोड ६२ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको थियो ।

तीन महिनाको अवधिमा पाँच निर्जीवन बीमा कम्पनीहरुको मात्र बीमा दावी भुक्तानी बढेको छ । बीमा दावी भुक्तानी बढेसँगै पाँच कम्पनीहरुले आम नागरिक तथा बीमितहरुमाझ विश्वास बनाउँन सफल भएका छन् । यस अवधिमा सलिकोसहित नौ कम्पनीको बीमा दावी भुक्तानीमा १३ देखि ५६ प्रतिशतसम्मको गिरावट आएको छ ।

समीक्षा अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा बढी कुल बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमा दावी भुक्तानी गत आवको तुलनामा ५१.७० प्रतिशतले बढेर ६७ करोड २७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले यस अवधिमा ६४ करोड ४४ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको यस्तो भुक्तानी ३१.६७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायमा सबैभन्दा छिटो र छरितो दावी भुक्तानी दिने परिचय बनाएको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा दावी भुक्तानीमा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा दावी भुक्तानी ५२.१० प्रतिशतले घटेर ४४ करोड ९२ लाख रुपैयाँमा सीमित बनेको छ ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड १० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३५ करोड ४७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड १० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २४ करोड ३८ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेकोे छ ।

ओरियण्टल इन्स्योरेन्सले १८ करोड ८६ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । गत आवको तुलनामा कम्पनीको दावी भुक्तानी ३०.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै, नेशनल इन्स्योरेन्सले १६ करोड ९० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १५ करोड दुई लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड ३४ लाख रुपैयाँ र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चार करोड ८७ लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?