नेपाल राष्ट्र बैंकको निर्देशनसँगै सहकारी बैंकका २ जना सञ्चालकले राजीनामा दिएका छन् । राजीनामा दिएका २ सहित ६ जना पदमुक्त भएका छन् । बैंकबाट पदमुक्त भएका ६ जनामध्ये सञ्चालक समितिका सदस्य रामबहादुर जिसी र केदार मानन्धरले राजीनामा दिएका छन् । बाँकी ४ जना राष्ट्र बैंकको निर्देशनसँगै पदमुक्त भएका छन् । यसरी पदमुक्त हुनेमा जिसी र मानन्धरका साथै बैंकका अध्यक्ष केबी उप्रेती, सञ्चालक रामहरी बजगाई, शिवा थापा र मनोजकुमार थापा मगर रहेका छन् ।
राष्ट्र बैंकको निर्देशनसँगै दुई जनाले राजीनामा दिएको र बाँकी ४ जनालाई बैंक सञ्चालक समितिको बैठकले सञ्चालकबाट हटाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार नै छ जना सञ्चालक पदबाट हटेको बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बताए । ६ जनालाई बैंकले हटाउनु भन्दा पनि राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेको अध्यक्ष गिरीले बताए ।
।
राष्ट्र बैंकले सहकारी बैंकलाई ६ जनालाई हटाउन र ७ जनाको सञ्चालक समिति बनाउन निर्देशन दिएको छ ।
तर, बैंकले भने ११ जनाको सञ्चालक समिति बनाउन पाउनु पर्ने माग गरेको छ । केन्द्रीय बैंकले सहकारी बैंकमा ४ जना सहकारी संस्थाबाट, ४ जना सर्वसाधारण र १ जना विज्ञसहति ७ जनाको सञ्चालक समिति बनाउन निर्देशन दिएको हो ।
बैंकले ११ जनाको सञ्चालक बनाउन माग गरेको अध्यक्ष गिरीले बताए । राष्ट्र बैंकले ७ जनाभन्दा बढी सञ्चालक राख्न अनुमति नदिएको खण्डका बैंकले आफ्नो विनियमावली संशोधन गर्नुपर्छ । विनियमावली संशोधन गर्नु परेको खण्डमा विशेष साधारण सभा बोलाउनु पर्ने बाध्यता हुन्छ ।
बैंकका तत्कालिन अध्यक्ष केबी उप्रेती सहकारी बचत रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका बचतकर्ताको बचत अपचलन अभियोगमा हिरासतमा रहेका हुन् । अर्का सञ्चालक मनोज कुमार थापा मगर (तत्कालीन तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष) करिब ७ महिनादेखि सहकारी ठगी प्रकरणमा फरार छन् ।
नेपाल राष्ट्र बैंक र सहकारी विभागले संयुक्त रुपमा सहकारी बैंकमा गत फागुन संयुक्त अनुगमन गरेको थियो । अनुगमनको क्रममा सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका लागि थुनामा रहेका केबी उप्रेतीले बैंकबाट तीन पटकमा २८ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लिएको पाएको थियो । त्यो कर्जाको साँवा ब्याज नियमन हुन सकेको छैन ।
यस्तै सहकारी बैंकबाट सितापाइला बहुउद्देश्यीय सहकारीले २६ करोड ७७ लाख ३२ हजार ८२७ रुपैयाँ कर्जा लिएको छ । बैंकको सञ्चालकमा सीतापाइला बहुउद्देश्यीय सहकारीका कार्यकारी अध्यक्ष केदार मानन्धर छन् । बैंकबाट तीन पटकमा संस्थाले उक्त कर्जा लिएको हो । यो कर्जा आंसिक मात्रै नियमति रहेको छ । उनी बैंकको सञ्चालक थिए । बैंकबाट लिएको कर्जा भुक्तानी नगरेपछि उनी पनि बैंकबाट बाहिरिएका छन् ।