जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • पुसमा ९४ अर्ब कर्जा लगानी, अन्तिम दुई दिनमा ४१ अर्ब

पुसमा ९४ अर्ब कर्जा लगानी, अन्तिम दुई दिनमा ४१ अर्ब

उपभोक्ता कर्जामा आएको सुधार र ऋणको ‘एभरग्रिनिङ’ का कारण बैंकहरुले पुस महिना मात्र ९३ अर्ब ६७ करोड रुपैयाँ ऋण बिस्तार गरेका छन्। पछिल्ला दिन बैंकहरुमा गाडी, घरजस्ता ऋणको माग आइरहेको छ। आधार दरकै हाराहारीमा बैंकहरुले उपभोक्ता कर्जा दिन थालेको असर ऋण बिस्तारमा देखिएको हो। यसबाहेक महत्वपूर्ण कारण भनेको- एभरग्रिनिङ हो।

पुस मसान्तको हिसाब ठिकठाक देखाउन बैंकहरुले घुमाउरो माध्यम प्रयोग गरेर एउटा ऋण तिर्न अर्को सृजना गराइरहेका हुन्छन्। यहीबेला बैंकमा लिमिट लिएर बसेकाहरुले सरकारको राजस्वदेखि ब्याज भुक्तानीसम्मका लागि त्यो लिमिट प्रयोग गर्ने हुँदा पनि ऋण बिस्तार उच्च देखिएको हो।

२० वटा वाणिज्य बैंकमध्ये कृषि विकासबाहेक १९ बैंकले ऋण बढाएका छन्। बैंकरहरुले कर्जाको माग बढ्न थालेकाले लगानी बढेको बताएका हुन्। यही बेला कतिपय ठूलो जलविद्युत आयोजनाहरुले पनि पहिले प्रतिबद्धता जनाएको ऋण लिएका छन्। त्यसले पनि बढ्न गएको हो।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ ब्याजदर सस्तिएको र आर्थिक गतिविधि बढ्न थालेकाले कर्जाको माग बढ्न थालेको बताउँछन्।

‘कर्जाको ब्याजदर धेरै तल आइसकेको अवस्था छ। सस्तो ब्याजदरका कारण कर्जाको माग बढेको छ,’ उनले भने, ‘नेपालमा प्रशोधन गरी निर्यात हुने तेलको कच्चा पदार्थ आयातका लागि कर्जाको माग उच्च छ।’

पुसमा एभरेष्ट बैंकले सबैभन्दा धेरै १२ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड, नबिल बैंकले ९ अर्ब ५३ करोड, लक्ष्मी सनराइज बैंकले ७ अर्ब ९१ करोड र सिटिजन्स बैंकले ५ अर्ब ९९ करोड कर्जा प्रवाह गरेका छन्। पुसमा कुमारी बैंकले सबैभन्दा कम १४ करोड कर्जा प्रवाह गरेको छ। कृषि विकास बैंकले कर्जा पुसमा १ करोडले खुम्चिएको छ।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका