

मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । बिहीबार कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो ।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने बताइएको छ ।निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुने जनाइएको छ ।
डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक व्यावसायिक मूल्यांकन अध्ययन अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ ।
आयोजना प्राविधिक परामर्शदाता श्री क्लिन इनर्जी कन्सलटेन्स प्रालि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताएका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ । मर्स्याङ्दी नदी गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्छ ।