

नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारलाई ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनासँग लिएको अन्तर्वार्तामा रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
समितिको हिजो साँझ बसेको बैठकले तीन जनाको नाम सिफारिस गरेको अर्थमन्त्रालय स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ । अर्थमन्त्रालयले तीन जनाको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस समिति कुन कुन नम्वरमा कस कसलाई राखेको छ भनेर अहिले नै यकिन तथ्याङ्क आइसकेको छैन ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । सम्भवतः मन्त्रिपरिषदले यी ३ मध्येबाट अध्यक्षमा नियुक्त हुने विश्वास गरिएको छ । यसअघि खासै चर्चामा नरहेको दामोदर बसौला विद्या भण्डारीमार्फत बीमा प्राधिकरणको अध्यक्ष बन्न तीन नम्वरको सूचिमा समावेश भएका छन् । अब बाँकी काम मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री केपी ओली र कांग्रेस नेतृ आरजु राणा बीचको सहमतिमा हुनेछ ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको हो । आज सोमबार नियमित बैठक बस्न लागेको हो ।
आजको बैठकमा अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।