बैंकिङ्ग
प्रभु बैंकको वित्तीय साक्षरता मुस्ताङको घरपझोङमा, गभर्नरले भने ‘जोखिमप्रति सतर्क रहौं’


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवा लिँदा जोखिमप्रति सचेत हुनुपर्ने बताएका छन्। प्रभु बैंक गण्डकी प्रदेश कार्यालयले मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबार आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारको सेवामा डिजिटल विधिका विविधताका विषयमा प्रष्टयाउँदै उनले सतर्क भएर उपयोग गर्नुपर्ने सुझाव दिए।
‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीले यसका सम्भावित जोखिमहरु र ठगीका घटनाहरुबाट जोगिन सचेत रहनु पर्छ,’ उनले भने, ‘हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता छ’ उनले भने।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सहभागीसँग बचत, बजेटिङ र लगानीको अवधारणाबारे छलफल गरे। प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानामगरले डिजिटल वित्तीय उपकरणको प्रयोग, मोबाइल बैंकिङ, अनलाइन खाता खोल्ने र वित्तीय सुरक्षा विधिका विषयमा सहभागीलाई जानकारी दिए।
वित्तीय कारोबारमा डिजिटल प्रविधिको प्रयोग र डिजिटल विधिबाट कारोबार गर्दा ठगीबाट जोगिन अपनाउनुपर्ने उपायबारे जनचेतना बढाउदै सर्वसाधारणलाई बचत र लगानी गर्न सिकाइएको उक्त कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउन कार्यक्रम महत्त्वपूर्ण रहेको भनाइ राखे।
कार्यक्रममा राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपकराज लामिछाने, आयोजक प्रभु बैंकका अधिकारीहरुसँगै उल्लेख्य संख्यामा स्थानीयबासी सहभागी थिए।