

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । बिहीवार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औँ वार्षिक साधारण सभाले कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा दिनेश थकाली, सचिवमा माधब प्रसाद उपाध्याय र कोषाध्यक्षमा कपिल ढकाल चयन भएका हुन्। सदस्यहरूमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, दिपेश लम्साल, हरिबहादुर बुढाथोकी र दिनेश पोखरेल रहेका छन्।
सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्नका लागि सबै सदस्य बैंकहरूको आभार व्यक्त गर्दै आगामी दिनमा विकास बैंकहरूको हक र हितका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सबै सदस्य बैंकरहरूको सघन सहयोग र सुझावका लागि अनुरोध गर्दै एशोसिएसनको आगामी योजनाहरूमा सबैको सहकार्यको महत्व औंल्याए।