
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध कोषको सम्पत्ति हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारले कोषका तत्कालीन सदस्यसचिव एवं हालका परिषद् सदस्य राजु कुमार खत्री, उपनिर्देशक रेवतीरमण अधिकारी, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, कानुनी सल्लाहकार लैनबहादुर थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेलविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार रुपैयाो बिगो कायम गरी मुद्दा दायर गरेको हो।
पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा भ्रष्टाचार गरिएको मुद्दामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक युवराज अधिकारी, म्याप इन्टरप्रेनर्स, यो कम्पनीका संचालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र यसका प्रबन्ध निर्देशक सुरज चापागाइँलाई पनि प्रतिवादी बनाइएको छ।
सम्बन्धित काममा अनुभव नै नभएको परामर्शदाता कम्पनी एप्पल इन्जिनियरिङलाई फर्जी कोटेसन तयार गर्न लगाइ बढी लागत अनुमान गरेर मिलेमतोमा म्याप इन्टरप्रेनर्सलाई शवदाह गृहको मेसिन खरिद तथा जडानको जिम्मा दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
करिब ५२ लाख रुपैयाँ हाराहारी पर्ने मेसिनलाई १ करोड ५२ लाख रुपैयाँ पर्ने देखाएर मेसिन जडानको अनुभव नै नभएको म्याप इन्टरप्रेनर्सलाई १० करोड ३३ लाख ९१ हजार रुपैयाँको ठेक्का दिएर १ करोड ८२ लाख रुपैयाँ पेश्की भुक्तानी दिएको, असम्बन्धित व्यक्तिलाई विदेश भ्रमणमा पठाएको, कैफियत देखिएको मेसिनलाई सम्झौता बमोजिम रहेको भनिएको लगायत कैफियतका आधारमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार म्याप इन्टरप्रेनर्सले जडान गरेका दुई वटा मेसिन हाल संचालनमा छैनन्। अख्तियारले म्याप इन्टरप्रेनर्सलाई भुक्तानी गरिएको १ करोड ८२ लाख रुपैयाँ सबै प्रतिवादीबाट असुल उपर गर्न माग गरेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































