जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार

विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार

पोखरामा विदेशी मुद्रा साट्न संगठित रूपमा गिरोह नै सक्रिय भएको पाइएको छ । बैंकहरूमार्फत औपचारिक रूपमा विदेशी मुद्रा सटही नगरी अनौपचारिक रूपमा कारोबार हुने गरेको पाइएको हो ।

पर्यटकीय राजधानीसमेत भएकाले पोखरामा अवैध रूपमा मुद्रा सटहीको कारोबार हुने गुनासो बेला/बेला आउने गरेको थियो । प्रहरीले अपरेसन नै चलाएर यस्ता गिरोहका केही व्यक्तिलाई नियन्त्रणमै लिएपछि डलरको रहस्यमय कारोबार पुष्टि भएको हो ।

पोखरामा मुद्रा सटही व्यवसायीकै संलग्नतामा अवैध कारोबार हुने गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । अवैध रूपमा मुद्रा सटही गरेको आरोपमा प्रहरीले ७६ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर- १३ हाटबजारमा र पोखरामा समेत रेस्टुरेन्ट चलाइरहेका ४५ वर्षीय महुमुद्दिम एम अहमद पोखरा-१७ पार्दीबाट पक्राउ परेका छन् भने अन्य २ जना झापा दमक नगरपालिका- ४ घर भई पोखरा-६ बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा-१९ घर भई लेकसाइड बस्ने खेमराज पौडेल छन् । बुढाथोकीले पोखरा लेकसाइडमा हिलारी मनी चेन्जरका सञ्चालक हुन् भने पौडेलले सगरमाथा मनी चेन्जर चलाउँछन् ।

शनिबार पोखरामा अवैध रूपमा विदेशी मुद्रा सटही भइरहेको प्रहरीलाई सूचना पुग्छ । गण्डकी प्रदेश प्रहरी र जिल्लाको संयुक्त टोली खटिन्छ र महुमुद्दिमलाई सटही गरेका नोटसहित पक्राउ गर्छ ।

महुमुद्दिमले नेपाली पैसा जम्मा गर्ने र उनीहरूमार्फत डलर सटही गर्ने गरेका थिए । महुमु्द्दिमबाट फेला परेको नोटका बण्डलमै बाहिर बुढाथोकी र पौडेलको नाम लेखिएको थियो । त्यहीँबाट उनीहरूसम्म पुगेर प्रहरीले अनुसन्धान गर्दा अवैध रूपमा मुद्रा सटही कारोबार गर्ने गरेको खुलेको हो ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार विदेशी विनिमय कारोबार, त्यस्तो कार्यमा संलग्न हुन, प्रचलित कानुनबमोजिम बैंकबाट इजाजतपत्र लिनुपर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा कसुर गरेको ठहरिन्छ ।

यस्तो कसुर गरेमा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । ‘राष्ट्र बैंक ऐनविपरीत नेपाली पैसा जम्मा गर्ने र पोखरामै मुद्रा सटही गर्ने व्यक्तिहरूको मिलेमतोमा कारोबार गर्ने गरेको खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओलियाले भने, ‘उनले सटही गरेको डलर कहाँसम्म पुर्‍याउँछन् र कसरी खर्च गर्छन् भन्ने अनुसन्धानमै छौं ।’

औपचारिक माध्यमबाट विदेशी मुद्रा सटही गर्न पासपोर्ट, भिसा चाहिन्छ । तर अवैध रूपमा सटही गर्दा ती आवश्यक पनि नपर्ने भएकाले त्यसका निम्ति यो गिरोह सक्रिय भएको पाइएको एसपी ओलियाले जानकारी दिए ।

यहाँबाट अन्य देशमा लगेर लडर खर्च भएको पनि हुनसक्ने र यो गिरोहका अन्य सदस्य पनि हुनसक्ने भएकाले सूक्ष्म अनुसन्धान गरिने प्रहरीको भनाइ छ । उनीहरूको साथबाट १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० यूरो र ४३ लाख ७३ हजार ७०० नेपाली रुपैयाँ रहेको ओलियाले जानकारी दिए । नियमअनुसार डलर खरिद गर्न पाउने तर बिक्री वितरण गर्न बिना इजाजत पाइँदैन ।

अवैध रूपमा मुद्रा सटही हुने बेला-बेलामा चर्चा चल्ने गरेको भए पनि व्यक्ति पक्राउ नै गरेर प्रहरीले कारबाहीका लागि अनुसन्धान अगाडि बढाएको यो सम्भव पहिलो घटना नै हुनसक्ने एसपी ओलियाको भनाइ छ ।

मुद्रा सटही व्यवसायी संगठन पोखराका अध्यक्ष रुपक मिश्रले प्रहरीले अकस्मात पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जानकारी पाएको बताए । उनले पोखरामा परिवर्तित विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकबाट इजाजल प्राप्त गर्ने ३५ व्यवसायी रहेको जानकारी दिए । पक्राउ गरेका तीनै जनालाई ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका