जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कुमारी बैंकको अगुवाइमा माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

कुमारी बैंकको अगुवाइमा माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

यस आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्वमा सहवित्तीयकरण (Co-financing) को व्यवस्था गरिएको हो। सहभागी अन्य वित्तीय संस्थाहरूमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्स लिमिटेड छन्।

काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच २०८२ साल साउन १६ गते कुमारी बैंक लिमिटेड र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच औपचारिक रुपमा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन्।

कुमारी बैंकले ऊर्जा क्षेत्रमा विशेष प्राथमिकता दिँदै हालसम्म ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य आयोजनाहरूमा लगानी गरिसकेको छ। यस अवधिमा बैंकले करिब ७० अर्ब रुपैयाँ बराबरको लगानी (प्रतिबद्धतासहित) गर्दै २,००० मेगावाटभन्दा बढी क्षमताका आयोजना सहवित्तीयकरणअन्तर्गत अघि बढाएको छ। तीमध्ये केही आयोजना सञ्चालनमा छन् भने अन्य निर्माणाधीन अवस्थामा रहेका छन्।

करीब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने माथिल्लो सेती जलविद्युत् आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइनेछ। आयोजनाका लागि आवश्यक सम्पूर्ण वित्तीय पूर्वतयारीहरू समेत सम्पन्न भइसकेको छ।

आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। आयोजना निर्माणपश्चात वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। वर्षायाममा ८३४.४९ GWh र सुखायाममा ३९५.११ GWh विद्युत् उत्पादन हुनेछ। सुखायामको आधार मूल्य (एभरेज बेस प्राइस) प्रतियुनिट रू. १०.५५ र वर्षायामको दर रू. ८.४० निर्धारण गरिएको छ।

उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभी क्षमताको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ। प्रस्तावित ४०० केभी बझाङ सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ।

आयोजनाको बाँधभन्दा तल सेती नदीमा जैविक बहाव सुनिश्चित गर्न वर्षभर १.४१ घनमिटर प्रति सेकेन्ड पानी छोडिनेछ। आयोजनाको क्याचमेन्ट क्षेत्रमा मक्सिमम फ्लो ३४.१ घनमिटर प्रति सेकेन्ड रहनेछ भने माथिल्लो जलाशयको एफ.आर.एल. ७५८.९ मिटर र मिनिमम वाटर लेभल ७३५.६ मिटर निर्धारण गरिएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) २०८० साउन १९ गते सम्पन्न भइसकेको छ भने २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति समेत प्राप्त भइसकेको छ। आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ।

प्रतिमेगावाट लागत करिब १९ करोड २५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ भने प्रथम वर्षमै आयोजनाबाट करिब ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्ताहरू मार्फत संकलन गरिरहेको छ। प्रमुख लगानीकर्ताहरूमा सिउरी न्यादी पावर लिमिटेड, निगडी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, माइ खोला हाइड्रोपावर लिमिटेड, यश होल्डिङ प्रा.लि. लगायतका प्रतिष्ठित कम्पनीहरू रहेका छन्। साथै, शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्र कुमार गुरागाईं र दिनेश गुरुङ जस्ता अनुभवी व्यक्तिहरू पनि लगानीकर्ता रहेका छन्।

स्थानीय पूर्वाधार विस्तार, रोजगारी सृजना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिमको आर्थिक समृद्धिमा निर्णायक योगदान पुर्‍याउने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको ऊर्जा विकासको इतिहासमा महत्वपूर्ण परियोजना बन्ने विश्वास गरिएको छ। आयोजना सम्पन्न भएपछि ‘उज्यालो सुदूरपश्चिम’ को सपना साकार पार्न यसले निर्णायक भूमिका खेल्ने बताइएको छ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका