जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिडिसी हिमालयन बैंकमा आउने अनिश्चित

सिडिसी हिमालयन बैंकमा आउने अनिश्चित

बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) हिमालयन बैंकमा आउने अनिश्चित बनेको छ। हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र सञ्चालक समेत रहेका उनका भाइ प्रचण्डबहादुर श्रेष्ठ वाधक हुँदा अन्तिम समयमा आएर सिडिसी नेपाल आउने अनिश्चित बनेको हो।

हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत शेयर किनेर सिडिसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको थियो। सबै प्रकृया ठिकठाकसँग चलिरहेका बेला सञ्चालक समितिमा आफ्नो समूहको प्रतिनिधित्व घट्ने भएपछि श्रेष्ठ दाजुभाइ सिडिसीलाई रोक्न उभिएका हुन्।

‘सबै राम्रैसँग भइरहेको थियो। अचानक सिडिसीको प्रवेश बन्दजस्तो भयो’ राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले भने, ‘श्रेष्ठ दाजुभाइको वहिर्गमनबिना आफू आउन नसक्ने जानकारी सिडिसीले गराएको छ।’

हिमालयन बैंकमा २६ बर्षदेखि साझेदारी गरिरहेको पाकिस्तानको हबिब बैंकले आफ्नो शेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेको हो।

हबिब जसरी पनि बाहिरिने र सिडिसीलाई जसरी पनि भित्र्याउनु पर्ने दोबाटोमा रहेको राष्ट्र बैंकले समस्याको हल भने खोजिसकेको छ। राष्ट्र बैंकले हिमालयन बैंकमा अब सञ्चालक समितिको निर्वाचन गराउने बाटो अख्तियार गरेको छ।

यसो हुँदा श्रेष्ठ दाजुभाइबाट एक जना मात्रै सञ्चालक समितिमा आउँछन्। उसको समूहबाट कुल तीन जना मात्रै सञ्चालक बन्दछन्। यसो हुँदा सात सदस्यीय सञ्चालक समितिले बहुमतका आधारमा निर्णय गरेर हबिबलाई ‘एक्जिट’ र सिडिसीलाई ‘इन्ट्री’ दिने निर्णय गर्ने छ।

यसबारेमा मनोजबहादुर श्रेष्ठले केही पनि बताउन चाहेनन्। उनले आँफू उपचारमा रहेको र यस बिषयमा बुझ्न बैंकको कानुन विभागमा सम्पर्क गर्न सुझाब दिए। बैंकको कानुन विभागले भने शेयरधनीबीच आन्तरिक रुपमा भएको कुराकानी बैंकलाई थाहा नहुने जनाएको छ।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ। कोषको १४ प्रतिशत लगानी छ। यसपछि एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१. म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छाया इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत शेयर छ। बाँकी लगानीकर्ताको शेयर १ प्रतिशतभन्दा तल छ।

गत जेठमै हबिबको ठाउँमा सिडिसी आउने भन्दै दुबै बैंकका प्रतिनिधिले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपाललाई भेटेका थिए। उत्साहित रुपमा भेट्न पुगेका प्रतिनिधिहरुलाई अर्थमन्त्री र गभर्नर दुबैले शुभकामना दिएका थिए।

सबै प्रकृया अगाडि बढिरहेको थियो, त्यही बेला मनोजबहादुर श्रेष्ठ समूहले बखेडा झिकेपछि सिडिसी शेयर किन्न हच्किएको थियो।

बेलायती सरकारको पूर्ण लगानीको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिट) को निजी क्षेत्रमा लगानी गर्ने संस्था सिडिसी हो। यसले दक्षिण एसिया र अफ्रिकी मूलुकहरुमा आफ्नो लगानी बढाउँदै लगेको छ।

हबिबले आफ्नो लगानी भएको अन्य बैंकहरुबाट हात झिक्न थालेको छ। उसले पाकिस्तानमै आफूलाई बलियो बनाउने भन्दै रणनीतिक ‘मुभ’ लिन थालेको छ। त्यसलै उसले ६ वटा देशमा भएको लगानीबाट हात झिकिसकेको छ। यही क्रममा नेपालबाट पनि लगानी झिक्न लागेको हो।

हबिबले नै हिमालयनमा सिडिसी खोजिदिएको हो। हबिबमा सिडिसीको ५ प्रतिशत लगानी छ। लामो समयदेखि हबिबले सिडिसीसँग सहकार्य गरिरहेकाले आफ्नो ठाउँमा उसलाई राख्ने व्यवस्था मिलाइदिएको हो।

सिडिसीले हिमालयन बैंकलाई २ करोड डलर ऋण उपलब्ध गराउने सहमति गरिसकेको छ। सिडिसीले यसअघि एनएमबीलाई डेढ करोड डलर ऋण उपलब्ध गराएको थियो। सिडिसी शेयरधनीकै रुपमा हिमालयन बैंकमा भित्रिएपछि अझ धेरै पैसा भित्र्याउन सहज हुने राष्ट्र बैंकका अधिकारीहरुले बताए।

सिडिसीले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कमा लगानी गरेको छ भने सिडिसीले भर्खरै माथिल्लो त्रिशुली १ मा पनि लगानी गर्ने सम्झौता गरिसकेको छ।

बेलायती सरकारको लगानी भएको संस्था भएकाले हिमालयनलाई अन्तर्राष्ट्रिय बैंकिङका लागि पनि बाटो खुला हुने विश्वास लिइएको थियो। प्रतितपत्र खोल्नेदेखि बैंक ग्यारेन्टीसम्मका फाइदा हिमालयन बैंकलाई हुनेछ। सिडिसीको संस्थागत सुशासन एकदमै राम्रो रहेको र नो योर कस्टमर (केवाइसी) अनुपालन पनि बलियो भएकाले त्यसको लाभ पनि हिमालयन बैंकलाई हुनेछ।

सिडिसीको लगानीसँगै सञ्चालक समितिमा पनि उताबाट एकदेखि २ जनासम्म आउने सहमति भएको थियो। उच्च ब्यवस्थापनमा सिडिसीबाट कर्मचारी आउने भएका थिए।

नेपालस्थित बेलायती दूतावासले पनि सिडिसीलाई ल्याउन पहल गरेको थियो। नेपाल र बेलायतको २०० बर्ष पुरानो सम्बन्ध भएपछि प्रत्यक्ष लगानीको संस्थाहरु भने आएका थिएनन्। त्यही भएर सिडिसीलाई ल्याउन उसले पहल गरेको हो।

सिडिसी नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्न इच्छुक छ। हिमालयन बैंकसँग सहकार्यका लागि अगाडि बढेको सिडिसी त्यो नपाए अन्य बैंकसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको छ।

अहिले सिडिसीले नेपालका पाँच बैंकसँग कुराकानी गरेको छ। ‘हामीसँग हिमालयन बैंकभन्दा अगाडि नै कुराकानी भएको थियो। हबिब बाहिरिने भएपछि सिडिसी हिमालयनमा आकर्षित भएको थियो’ एक बैंकरले पुष्टी गर्दै भने, ‘हिमालयनसँग कुराकानी भएपछि सिडिसी हामीसँग आएको छैन।’

राष्ट्र बैंकका अधिकारीहरुले भने मध्यमस्तरका पाँच बैंकसँग सिडिसीले कुराकानी गरिरहेको छ। ‘हाम्रो आग्रहमा हिमालयन बैंकको साधारणसभापछि बन्ने सञ्चालक समितिको संरचना कस्तो हुन्छ त्यसअनुसार निर्णय गर्ने भनेर सिडिसी पर्खिरहेको छ’ ती अधिकारीले भने, ‘हिमालयनसँग कुराकानी सकारात्मक भएन भने अन्य जुनसुकै बैंकमा सिडिसी जान सक्छ।’

9260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?