
सिद्धार्थ बैंक लिमिटेड अबदेखि कर्मचारी सञ्चय कोषमा आधिकारिक रूपमा आबद्ध भएको छ। कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंकबीच भएको सम्झौता अनुसार बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा गरिने भएको छ।
सम्झौताअनुसार बैंकले हालसम्म सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिएको छ। यो रकम अब कर्मचारी सञ्चय कोषद्वारा व्यवस्थित र व्यवस्थापन गरिनेछ।
सम्झौतामा कोषका सञ्चयकर्ता सेवा विभाग प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात् बैंकका कर्मचारीहरूले विशेष सापटी, घर सापटी, शैक्षिक तथा मर्मत सापटी, जग्गा खरिद, सरल सापटी लगायत सञ्चयकर्ताहरूलाई प्रदान गरिने सबै सुविधा उपयोग गर्न सक्नेछन्।
यस्ता सुविधासँगै कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत कुनै पनि अतिरिक्त व्ययभार नलाग्ने गरी रू १ लाखसम्मको सामान्य उपचार, रू १० लाखसम्मको कडा रोग उपचार, रू। २ लाख दुर्घटना क्षतिपूर्ति, रू. ४० हजार काजकिरिया अनुदान तथा प्रसूती सुविधा अन्तर्गत दुई पटकसम्म रू. ७,५०० प्रदान गर्दै आएको छ।
हालसम्म ५९१ बैंक तथा वित्तीय संस्था, ८१ हजार ६५० कार्यालय, र ५ लाख ७९ हजारभन्दा बढी सञ्चयकर्ताहरू कोषमा आबद्ध छन्। यस्तै, ९५ हजार ७७३ जना योगदानकर्ताहरूको निवृत्तभरण कोष व्यवस्थापन समेत कोषमार्फत भइरहेको छ।
आर्थिक ऐन, २०८२ अनुसार, अबदेखि आन्तरिक राजस्व विभागबाट स्वीकृत अवकाश कोषहरू अनिवार्य रूपमा कर्मचारी सञ्चय कोष जस्ता निकायमा आबद्ध हुनु पर्ने व्यवस्थाले गर्दा बैंक तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम तीव्र बनेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































