
नेचुरल इस्पिरिट्स नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। उक्त सम्झौतामा नेचुरल इस्पिरिट्सका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
नेचुरल इस्पिरिट्सको उत्पादन कक्ष धादिङको गल्छी गाउँपालिकामा छ। कम्पनीले सन् २०२१ मा पहिलोपटक उत्पादन सुरु गरेको हो।
उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नवीनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ।
२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा २ वटा अर्ध-स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्यांक तथा ५ वटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्युट्रल अल्कोहल ट्यांकहरू छन्। कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर हो।
हाल कम्पनीका ‘सरङ्गी ह्विस्की ४० यूपी’ र ‘सेतो बाघ भोड्का ३० यूपी’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध छन्। जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको कम्पनीले जनाएको छ।
निकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० यूपी’ नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री गर्न तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































