
यहि भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट कैदीबन्दी फरार रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आइतबारसम्म तीन हजार ७ सय २३ कैदीबन्दी पक्राउ गरी कारागारमा फर्काइएको छ भने अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन् । प्रहरीले फरार कैदीबन्दीको खोजी जारी राखेको छ र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार कतिपय फरार कैदी भारततर्फ भाग्न खोजिरहेका थिए, तर भारतीय प्रहरीले समातेर फिर्ता पठाएका छन् । केही फरार कैदीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन् भने कतिपय आफैं फिर्ता भएर कारागार आएका छन् । घिमिरेले भने, ‘कसैले फरार कैदीबन्दीको बारेमा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तुरुन्त जानकारी दिनुहोस् । हामीले खोजी अभियान जारी राखेका छौं ।’
यस्तै सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट १ सय ३९ जना थुनुवालाई पक्राउ गरिएको छ । तर, अझै दुई हजार १०० थुनुवा फरार छन् । प्रवक्ता घिमिरेले भने, ‘फरार थुनुवाको खोजी जारी छ । सबै सुरक्षाकर्मी, प्रहरी र स्थानीय प्रशासनले सतर्क रहनु आवश्यक छ ।’ यसरी दशैंको मुखैमा ठुलो संख्यामा कैदी र थुनुवा फरार हुँदा सुरक्षा चुनौती थपिएको छ ।
बैंकिङ र सार्वजनिक सुरक्षा चुनौती
फरार कैदीबन्दीको घटना बैंकिङ क्षेत्रका लागि पनि चुनौती बनिरहेको छ। देशभरका बैंक तथा वित्तीय संस्थाहरुले सुरक्षालाई उच्च प्राथमिकतामा राख्न थालेका छन्। कैदीबन्दीको अस्थिर गतिविधि, तोडफोड र आगजनीका घटनाले बैंक र वित्तीय संस्थाको नियमित काममा असर पारेको छ।
विशेषतः दशैंको चहलपहल सुरु हुन लाग्दा यस्तो सुरक्षा चुनौती थप चिन्ताजनक भएको छ। बैंकहरु, सरकारी कार्यालय तथा बजार क्षेत्रमा पनि सतर्कता अपनाउन सुरक्षाबलहरुलाई निर्देशन दिइएको छ।
जेनजी प्रदर्शनपछि कैदीबन्दी फरार हुनु देशको सुरक्षा प्रणालीका लागि गम्भीर चुनौती बनेको छ । दशैंँको चहलपहलका बेला बैंकिङ, व्यापार, सार्वजनिक सुरक्षा र नागरिक जीवनमा असर पर्न सक्ने भएकाले सुरक्षा निकायले सबै उपाय अपनाइरहेको छ । नागरिकको सहयोग र सतर्कता नै यस संकट व्यवस्थापनको प्रमुख आधार हुने देखिन्छ ।
फरार कैदीबन्दीको खोजी जारी रहँदा सरकार, प्रहरी र सुरक्षा निकायले सार्वजनिक सुरक्षा र वित्तीय क्षेत्रमा थप सतर्कता अपनाउने तयारीमा छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































