जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न कात्तिक १७ सम्मको म्याद

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न कात्तिक १७ सम्मको म्याद

नेपाल विद्युत प्राधिकरणले डिकेटेड र ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगी व्यापारीहरुलाई कात्तिक १७ गतेसम्मको समय दिने भएको छ। प्राधिकरण सञ्चालक समिति बक्यौता तिर्ने समयबारे निर्णय गरेको हो। प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको चाहना अनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेको थियो। बैठकले बक्यौता उठाउने र त्यसका लागि उद्योगीहरुलाई समय दिने निर्णय गरेको थियो।

त्यसै अनुरुप २८ किस्तामा बक्यौता तिर्ने गरि सुविधा दिने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ। हिजोको बैठकको निर्णयहरु आज म्याइन्यूट भएका हुन्। अब उद्योगीहरुलाई बक्यौता तिर्न समय दिएर सूचना निकालिने प्राधिकरणका एक सञ्चालकले जानकारी दिए।

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सवा ८ अर्ब रुपैयाँ छ। त्यो बक्यौता तिर्न प्राधिकरणले उद्योगीहरुलाई किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भएको हो।

प्राधिकरणले आइतबार सूचना निकाले बक्यौता तिर्न आह्वान गर्नेछ। किस्ताबन्दीको सुविधा उपलब्ध गराउने लगायत सहजीकरण गर्दा पनि तोकिएको समयमा उद्योगीहरु बक्यौता तिर्न आएनन् भने कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।

कुनमानले भदौ ३० गते ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेकै दिन आफ्नो पहिलो निर्णयका रुपमा बक्यौता रकम उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए।

यसअघिका ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन भाँजो हालेका थिए। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोज्दा खड्काले गत चैत दोस्रो साता कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेका थिए।

खड्काले कुलमानलाई बर्खास्त गरेपछि आफूले प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्यामकिशोर यादवको नेतृत्वमा प्रशासकीय पुनरवलोकन समिति गठन गरी बक्यौतालाई ढिसमिस गराउन खोजेका थिए। तर प्राधिकरणका कर्मचारीले समितिमा बस्नै अस्वीकार गरेपछि खड्काको योजना असफल भयो।

प्रशासकीय पुनरवलोकनका लागि ४६ उद्योगीले आवेदन दिएका थिए। निवेदन दिएको ३५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेकामा समिति अनिर्णित भएको थियो।

जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि खड्काको जागिर गएको छ भने ऊर्जा मन्त्रालयको नेतृत्व कुलमान आइपुगेका छन्। कुलमानले आफ्नो सारथिका रुपमा प्राधिकरणमा मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाइसकेका छन्।

सिलवाल प्राधिकरणकै पूर्वकर्मचारी हुन्। उनले गत माघ दोस्रो साता उपकार्यकारी निर्देशकबाट अवकाश पाएका थिए। अवकाश पाउनुअघि सिलवालले कुलमानको निकट रहेर काम गरेका थिए।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका