जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ओली र लेखकलाई कारबाहीको माग गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीमा गरिदियो फिर्ता

ओली र लेखकलाई कारबाहीको माग गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीमा गरिदियो फिर्ता

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न माग गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीमा फिर्ता गरिदिएको छ। जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले फौजदारी वारदातमा विस्तृत अनुसन्धान गरी कसुरदार देखिने अवस्थामा अभियोजन लगाउने जिम्मेवारी आफ्नो नभएको भन्दै जाहेरी फिर्ता पठाउने निर्णय गरेको हो।

‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्र भित्र परेको छैन। फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको विदितै छ,’ आयोगका सदस्य विज्ञानराज शर्माले प्रेस विज्ञप्ति निकालेर भनेका छन्, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको असोज २१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने।’

ओली र लेखकविरुद्ध जेनजीको भदौ २३ गतेको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडा समेत ४ जनाले असोज २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

उनीहरुले ओली र लेखकलाई मानवताविरुद्ध तथा राज्यविरुद्धको कसुरमा कारबाही गर्न माग गरेकामा प्रहरीले जाँचबुझ आयोगले काम गरिरहेका बेला आफूले अनुसन्धान गर्न नमिल्ने भन्दै उजुरी आयोगमा पठाएको थियो।

प्रहरीले मुठभेडको स्थिति आउने भन्दै सुरुमा ओली र लेखकविरुद्ध उजुरी लिनै अस्वीकार गरेको थियो। तर प्रधानमन्त्री सुशीला कार्कीले नै निर्देशन दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो। दर्ता गरे लगत्तै प्रहरीले आयोगमा पठाएको थियो।

आयोगले अभियोजन आफ्नो क्षत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी फिर्ता गरिदिएपछि प्रहरीसामु ओली र लेखकलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने स्थिति आएको छ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका