शेयर बजार
हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्न नेसनल लाइफलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। हबिबको सेयर खरिद गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आइतबार अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकको नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए।
राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएसँगै नेसनल लाइफ इन्स्योरेन्सले हबिबको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर किन्नेछ। हबिबले प्रति कित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेकामा नेसनल लाइफले ११८.८ रुपैयाँका दरले किन्ने प्रस्ताव गरेको थियो।
हिमालन बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। हबिब त्यो सेयर नेसनल लाइफलाई बेचेर अब बाहिरिनेछ।
हबिब बैंकको सेयर किन्न नेसनल लाइफले भदौ पहिलो साता सेयर खरिद-बिक्री सम्झौता (एसपीए) गरेको थियो।
हबिबले ७ वर्षअघि नै आफ्नो सेयर बिक्री गर्न चाहेको थियो। कहिले विदेशी लगानीकर्तासँग बीचमै ‘डिल ब्रेक’ भएर त कहिले पुँजीगत लाभकरको विषय उठेर सेयर बिक्री गर्न सकिरहेको थिएन।
पछिल्लो समय हिमालयन रि इन्स्योरेन्सलाई बिक्री गर्न उसले सम्झौता गरेको थियो। अरु कसैले सेयर नपाउने गरी हिमालयन रिले खरिद गर्ने सम्झौता भएको थियो। तर, बिक्रीका लागि सार्वजनिक आह्वान भएपछि नेसनल लाइफको प्रवेश भएको थियो।
हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड बिचौलिया’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले तानाबाना बुनेका थिए।
बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल भट्टको नेतृत्वमा संगठित २५ भन्दा बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिंदै नेसनल लाइफले बढी मूल्य तिरेर सेयर खरिद गर्न आवेदन दिएको थियो। नेसनल लाइफको प्रस्तावका कारण भट्टको षड्यन्त्र विफल हुन पुगेको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































