
दोस्रो संस्करण सुरु हुनुअघि लुम्बिनी लायन्सको नाम उपाधि होडका टोलीको विश्लेषणहरूमा खासै आएको थिएन। यसको कारण थियो पहिलो संस्करणमा उसको प्रदर्शन। पहिलो संस्करणमा ८ टोलीमध्ये सबैभन्दा पहिला बाहिरिने टोली थियो लुम्बिनी लायन्स।
यो संस्करणमा पनि लुम्बिनीको सुरुवात राम्रो होइन। लिग चरणमा एउटा खेल जितेपछि लगातार तीन खेलमा हार ब्यहोरेको लुम्बिनी प्लेअफको होडमा कायम रहन बाँकीका ३ खेल जित्नै पर्ने दबाबमा थियो। यस्तोमा ब्याक-टू-ब्याक तीन खेलमा जित निकालेर पनि ८ अंक जोड्दै मुस्किलले चौथो स्थानमा रहेर लुम्बिनीले प्लेअफमा स्थान बनायो।
प्लेअफमा लुम्बिनीले प्रतियोगिताको सन्तुलितमध्येको एक मानिएको काठमाडौं गोर्खाजलाई पाखा लगाउँदै दोस्रो क्वालिफायर पुग्यो। फाइनल पुग्न उसको प्रतिस्पर्धी टोली थियो विराटनगर किंग्स। टेस्ट राष्ट्रका अनुभवी खेलाडी सम्मिलित विराटनगर कागजी रुपमा धेरै बलियो देखिए पनि लुम्बिनीले उसलाई हराउन सफल भयो। आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमको ब्याटिङ कोल्याप्स्ड गराउँदै लुम्बिनीले आफ्नो जितको कथा लेख्यो।
प्रतियोगिताअघिको कुराकानीमा लुम्बिनीका मालिक ईश्वर जिसीले पहिलो संस्करण सकिए लगत्तै दोस्रो संस्करणको तयारी सुरु गरेको बताएका थिए। उनी स्पष्ट थिए- लुम्बिनी यसपटकको दाबेदार हो।
दोस्रो संस्करणका लागि तयारी कहिले सुरु भएको थियो? जिसीको सिधा जवाफ छ- ‘फाइनलको भोलिपल्टै।’ ‘एनपीएलको फाइनलको भोलि नै क्यानलाई इमेल लेखेर आउने वर्षको कलर रातो हुने जानकारी दिएका थियौं। एनपीएलको फाइनलको दिनदेखि नै काम सुरु गरेका हौं,’ उनले भने।
उनले लुम्बिनीले लगातार ३ हारपछि भने सामाजिक सञ्जालमा ‘पर्याप्त भइसकेको’ आशयमा स्टाटस लेखेका थिए। तर, राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले एउटा ‘अण्डर डग’ टोलीलाई च्याम्पियन बनाएरै छाडे।
सुदूरपश्चिमलाई भारी ‘उपविजेता’
एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणमा कन्सिस्टेन्ट टोली हो : सुदूरपश्चिम रोयल्स। पहिलो संस्करणमा पनि लिगमा दबदबा बनाएर फाइनल पुगेको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। यो संस्करणमा पनि फाइनलअघि विराटनगरसँग मात्र हार ब्यहोरेको सुदूरपश्चिम फाइनलमा पराजित हुन पुग्यो।
सुदूरपश्चिमको हारको पछाडिको कारण भने शीर्षक्रमको अदलबदल नै रह्यो। लिग चरणभरी सुदूरपश्चिमको शीर्षक्रममा रहेर अस्ट्रेलियन ब्याटरद्वय जोस ब्राउन र क्रिस लिनले इनिङ्स उकास्न मद्दत गरिहरेका थिए।
एउटा एण्डमा विनोद भण्डारीको संयमित छँदैथियो। प्लेअफको खेलअघि नै ती दुई खेलाडी स्वदेश फर्किएपछि भारत र पाकिस्तानका दुई खेलाडी सुदूरपश्चिमले अनुबन्धित त गर्यो तर उनीहरुले न क्वालिफायरमा राम्रो गर्न सके न फाइनलमा नै। अझ, फाइनल खेलमा सुदूरपश्चिमको ब्याटिङको मियो भएर खेलिरहेका विनोद भण्डारी पनि डकआउट भइदिएपछि सुदूरपश्चिमको ब्याटिङ कोल्याप्स्ड हुन पुग्यो।
लुम्बिनीविरुद्ध कुनै पनि बेला सुदूरपश्चिम हाबी हुन सकेन। सबैभन्दा ठूलो फ्यानबेस भएको टोलीमध्येको एक सुदूरपश्चिमका लागि यो उपविजेताको पगरी भारी भएको छ। प्रतियोगिता भरी राम्रो गरेर फाइनलमा ‘लास्ट डान्स’ गर्न नसक्दा सुदूरपश्चिमले फेरि उपाधिका लागि कम्तीमा तेस्रो संस्करण पर्खनुपर्ने छ।
लुम्बिनीको सानदार इनिङ
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य कम भएकाले लो स्कोरिङ थ्रिलरको अपेक्षा गरेका दर्शक निराश हुन पुगे। लुम्बिनीका लागि दिनेश अधिकारीले विष्फोटक सुरुवात गरेका थिए।
अधिकारीले दोस्रो इनिङ्सको पहिलो ओभरमा ४ छक्का प्रहार गर्दै सानदार सुरुवात गरेका थिए। दीपेन्द्र सिंह ऐरीले बल गरेको उक्त ओभरमै अधिकारी २७ रन बनाएका थिए।
पहिलो विकेटका लागि अधिकारी र डार्सी सर्टले ५८ रनको पार्टनरसिप गरेका थिए। हेमन्त धामीले पाँचौँ ओभरको पहिलो बलमा डार्सी सर्ट र तेस्रो बलमा ४३ रन बनाएका दिनेश अधिकारीको विकेट लिए।
जित निकाल्न २ रन मात्रै बाँकी रहँदा लुम्बिनीले २ विकेट गुमायो। कप्तान रोहित शर्मा १६ रन बनाएर र सन्दीप जोरा डक आउन भए। निरोशन डिकवेला ११ रनमा अविजित रहँदा दिलिप नाथले विनिङ रन बनाए।
पुरस्कार रकम
दोस्रो संस्करणमा पुरस्कार राशिमा कुनै परिवर्तन नगरेको क्यानले जनाएको छ। एनपीएलको च्याम्पियन लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ। अर्कोतर्फ उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, तेस्रो हुने टोली विराटनगर किंग्सले २५ लाख रुपैयाँ हात पार्नेछ भने चौथो टोली काठमाडौं गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले जेको जे सेभेन कार पाउनेछन्। यो कार सम्भवतः लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नै पाउनेछन्। यसको बजारमूल्य हाल ६१ लाख छ। यद्यपि, कम्पनीले यो कार इन्ट्रडक्टरी मूल्यमै क्यानलाई प्रदान गर्ने बुझिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































