
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई अनुशासनमा बस्न आग्रह गर्दै असन्तुष्टि संचारमाध्यममा नपोख्न निर्देशन दिएका छन्। ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीले असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखतरूपमा राख्न आग्रह गर्दै पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न निर्देशन दिएका हुन्।
उनले नेताहरुलाई अनुशासनमा बस्न भनेका छन्।’एमाले लोकतान्त्रिक पार्टी हो। त्यसैले आफ्ना कुरा राख्न पाइन्छ। कुनै असन्तुष्टि भए नेतृत्वसामु लिखित वा मौखिक रुपमा पेस गर्न सकिन्छ। तर नीति निर्णय भन्दाविपरीत, सामूहिक हित र राष्ट्रिय स्वार्थविरुद्ध सञ्चार माध्यममा बोल्न पाइँदैन। त्यसलाई स्वतन्त्रता भनिंदैन,’ उनले भने।
तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको भन्दै निर्वाचित नयाँ केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले महाधिवेशनको नतिजासँगै एमालेमा गुट सकिएको भन्दै पार्टी अब एकजुट भएर अगाडि बढ्ने बताए।
‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला। स्वतन्त्र भएर पनि लडियो होला। कुन प्यानल भयो? कुन स्वतन्त्र भयो? त्यो हिजै परिणाम आएसँगै सिद्धियो,’ उनले भने, ‘अब हामी नेकपा एमालेको केन्द्रीय कमिटीमा छौं। केन्द्रीय कमिटी यो प्यानल र त्यो प्यानल होइन। नेकपा एमालेको देश हाँक्ने केन्द्रीय कमिटी हो। यो एकजुट छ। एकढिक्का छ।’
उनले पार्टी एकतामा खलल पुर्याउनका लागि कतिपयले एमालेमा अधिनायकवाद रहेको भनेर नेता कार्यकर्तालाई आफ्नाविरुद्ध उचाल्ने गरेको भन्दै आफूले विरोध गर्नुपर्ने कुनै काम नगरेको दाबी गरे। ‘एमालेमा कोही बोल्नै पाउँदैन। त्यहाँ केपी ओलीको अधिनायकवाद चल्छ। तानाशाह चल्छ। कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैन। यस्ता हल्ला चलाउँछन्। आलोचनात्मक चेत हराएका झोलेहरु एमालेमा बस्छन्। यस्ता कुरा गर्छन्। नत्र ती विरोधमा बोलिहाल्थे नि। खोइ केपी ओलीको विरोधमा बोलेका? उनीहरुले त्यसो भन्छन्,’ उनले भने, ‘लिडरसिपप्रति अनास्था फैलाउनका लागि पार्टी एकतामा खलल पुर्याउनका लागि त्यस्तो उचाल्ने कुराहरु गर्छन्। यस्तो कुराबाट हामी प्रभावित हुनु हुँदैन। केपी ओलीले विरोध गर्नुपर्ने कामै गर्दैन। के भनेर विरोध गर्नु?’
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































