
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजना गरिएको हो ।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी–२०२६ का लागि तोकेको बीमाशुल्क संकलनका आधारमा नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी कुल ८३ जना अभिकर्ता छनोट भई सम्मानित भएका छन् ।
कार्यक्रमको शुभारम्भ अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । सो अवसरमा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न उदाहरण प्रस्तुत गर्दै उत्प्रेरणामूलक तालिम प्रदान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ता समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्तालाई केन्द्रमा राखी केही नयाँ अभ्यासहरू सुरु गरिएको बताए । उनले एमडिआरटी–२०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी तथा टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान प्रदान गरेका थिए ।
त्यसैगरी कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको ‘चेज योर एमडिआरटी’ मासिक योजना अन्तर्गत सफल अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरिएको थियो । सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरणात्मक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको समारोहमा सम्मानित व्यवसायिक लिडरहरूले आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































