जोडिनुहोस
बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • सरकारले प्रयास गरे पनि सबै पक्षलाई एकैपटक खुसी पार्न खोज्दा ठोस नतिजा आएन

सरकारले प्रयास गरे पनि सबै पक्षलाई एकैपटक खुसी पार्न खोज्दा ठोस नतिजा आएन

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
म प्रमुख कार्यकारी अधिकृत रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जेनजी प्रदर्शनीका क्रममा ठूलो क्षति भयो । बैंकमा २ करोड रूपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ । त्यसबाहेक अप्रत्यक्ष क्षति निकै ठूलो छ । आगजनी, लुटपाट, तोडफोड सहित बजारको समस्त श्रृंखला प्रभावित भएको छ । त्यसभन्दा पनि ठूलो मनोवैज्ञानिक क्षति भएको छ। जेनजी विद्रोहपछि बैंकिङ क्षेत्रमा कर्जाको माग घटेको छ, क्षमता भएका ऋणी पनि कर्जा तिर्न आलटाल गरिरहनुभएको छ । कर्जा असुली निकै प्रभावित भएको छ ।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
प्रदर्शनका क्रममा निजी सम्पत्ति, व्यवसाय लगायतमा भएको लुटपाट, तोडफोड र आगजनीका कारण मेरो मनोबलमा ठूलो असर परेको छ । हामी बैंक भएका कारण कर्जाको माग आएको अवस्थामा थप लगानी नगरी बसिरहन सक्दैनौं ।

जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको छ ?
पक्कै पनि लगानीको वातावरण थोरै कमजोर बनेको छ । यो समग्र व्यावसायिक जगतले महसुस गरिरहेको विषय हो ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा, म सरकारको कामप्रति असन्तुष्ट छु । सरकारले प्रयास गरे पनि सबै पक्षलाई एकैपटक खुसी पार्न खोज्दा ठोस नतिजा आउन कठिन भएको देखिन्छ । सरकार सञ्चालनमा दृढ र कडा निर्णय लिनु आवश्यक हुन्छ किनकि सबैलाई रिझाउन खोज्दा प्रभावकारी काम हुन सक्दैन । अहिले भइरहेको पनि त्यही हो ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?
हाम्रो बैंकको झन्डै २ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यस क्रममा धेरै संख्यामा एटीएम मशिनहरू र एक्स्टेन्सन काउन्टरहरू तोडफोड गरिएका छन् । बैंकको अर्बौं लगानी भएको संरचनामा आगजनी र ठूलो भौतिक क्षति भएको छ । ठूला व्यावसायिक प्रतिष्ठानहरूमा पनि भौतिक क्षति पुगेको छ ।

भौतिक क्षतिका कारण व्यवसायहरू बन्द हुँदा र कारोबार रोकिँदा ग्राहकहरूको नगद प्रवाहमा गम्भीर असर परेको छ । क्षति भएका संरचनाहरूलाई पुनः पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने देखिएको छ । बिमा रकम र एडभान्स प्राप्त हुने क्रममा भए पनि तत्कालको व्यावसायिक लय बिग्रिएको छ । यस्ता घटनाले लगानीकर्ता र व्यवसायीहरूको मनोबलमा नकारात्मक असर पारेको छ । ‘फेरि लड्छौं र गरेर देखाउँछौं’ भन्ने आँट देखाए पनि व्यावसायिक वातावरणप्रति उनीहरूमा त्रास र अन्योल कायमै छ ।

सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?
पूर्णरूपमा गम्भीर असर परेको छ भन्न नसकिए पनि यसले लगानीको वातावरणमा निकै ठूलो प्रभाव पारेको छ । मुलुकमा विद्यमान अनिश्चितताका कारण थप लगानी गर्ने वा नगर्ने भन्ने विषय अहिले निकै चुनौतीपूर्ण बनेको छ । लगानीकर्ताहरूले बाहिरबाट ‘हामी गरेर देखाउँछौं’ भन्दै दृढता व्यक्त गरे पनि आन्तरिक रूपमा उनीहरूको मनोबल कमजोर भएको देखिन्छ र उनीहरू हाल ‘पर्ख र हेर’ को अवस्थामा छन् । यसका साथै, आगामी निर्वाचन हुने वा नहुने भन्ने विषयमा समेत लगानीकर्ताहरू पूर्णरूपमा विश्वस्त हुन नसक्दा अन्योल थप बढेको छ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको ‘पोस्ट जेनजी स्ट्रेस’ (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?
मुलुकमा व्याप्त अनिश्चितताका कारण भविष्यप्रति सबैमा त्रास र अन्योलको स्थिति छ । विशेषगरी निर्माण क्षेत्रका व्यवसायीहरू समेत के गर्ने भन्ने द्विविधामा छन् । वाणिज्य बैंकको रूपमासेवालाई निरन्तरता दिँदै व्यवसायीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्नु हाम्रो दायित्व हो । हामीले साना तथा मझौला उद्योगहरूलाई अगाडि बढाउन सक्रिय रूपमा पहल त गरिरहेका छौं, तर यस्तो परिस्थितिमा बढी दबाब वा प्रोत्साहन दिँदा भविष्यमा कर्जा असुलीमा समस्या आउन सक्ने जोखिमप्रति हामी पनि उत्तिकै सचेत छौं । हालको प्रतिकूल वातावरणका कारण नयाँ उद्यमीहरू उत्साहका साथ लगानीका लागि अगाडि आउन सकिरहेको अवस्था छैन ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
हाल बैंकका कर्मचारीहरूमाथि निरन्तर भौतिक आक्रमण र दुर्व्यवहार भइरहेका घटनाहरू अत्यन्तै चिन्ताजनक छन् । कार्यालयमा तोडफोड गर्ने र कर्मचारीको मनोबल गिराउने जस्ता कार्यहरू पहिले पनि भएका थिए र अहिले पुनः दोहोरिएका छन् । ‘कर्जा तिर्नुपर्दैन’ भन्ने र ’बैंकहरूलाई लखेट्नुपर्छ’ भन्ने जस्ता अराजक अभिव्यक्तिले बजारमा भ्रम फैलाएको छ । वास्तवमा बैंकहरू देशको आर्थिक समृद्धिका लागि अनिवार्य साझेदार हुन्, तर अहिले कर्मचारीको सुरक्षा र कार्य वातावरणमा चुनौती थपिएको छ । यस्तो अराजक स्थितिमा काम गर्न निकै कठिन हुन्छ ।

यद्यपि, सुरक्षा र प्रशासनिक निकायबाट हामीले सकारात्मक सहयोग पाइरहेका छौं । कुनै पनि अप्रिय घटना हुँदा प्रहरी प्रशासनले तत्काल सक्रियता देखाई दोषीहरूलाई नियन्त्रणमा लिन सहयोग गरेको छ । अर्कोतर्फ, सरकारको अवस्था पनि चुनौतीपूर्ण छ । केही दिनको अवरोधपछि पर्यटन क्षेत्रमा सुधार देखिनु र पर्यटकहरूको आगमन बढ्नु सुखद पक्ष हो । सुरुमा सबै क्षेत्र ध्वस्त हुने हो कि भन्ने आशंका गरिए पनि पर्यटकहरूको चहलपहलले अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन मद्दत पुर्‍याएको छ ।

व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?
हालको अवस्थामा सरकारलाई मेरो केही सुझाव छैन ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
पछिल्लो समयको सुरक्षा स्थिति अत्यन्तै चुनौतीपूर्ण र तनावपूर्ण थियो । बैंकहरूमा लुटपाट हुन सक्ने त्रासमा हामीले रातभर जागै बस्नुपर्ने अवस्था समेत सिर्जना भयो । कालिकोट र महेन्द्रनगर जस्ता स्थानहरूमा बैंकका शाखाहरूमा आगजनी गर्ने प्रयास भए तर स्थानीयको सहयोगले गर्दा ठूलो क्षति हुन पाएन । धेरै ठाउँमा प्रदर्शनकारीहरूको लुटपाट गर्ने नै उद्देश्य देखिन्थ्यो । मानिसहरूमा यस्तो गैरजिम्मेवार मानसिकता रहेसम्म सुरक्षा चुनौती सधैं कायम रहन्छ ।

ग्राहकहरूको ‘लकर’ को सुरक्षा हाम्रा लागि सबैभन्दा ठूलो चिन्ता र जिम्मेवारी थियो । अन्य केही बैंकहरूमा भएका आगजनी र लुटपाटका घटनाले हामीलाई थप सशंकित बनाएको थियो । लकरमा रहेका बहुमूल्य सामानहरूको बिमा निश्चित सीमासम्म मात्र हुने भएकाले भोलि कुनै अप्रिय घटना भएमा र ग्राहकले ठूलो रकमको दाबी गरेमा त्यसलाई सम्बोधन गर्न बैंकलाई निकै कठिन हुने थियो । त्यसैले, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका र सुरक्षाको उचित प्रबन्ध हुन आवश्यक छ ।

निजी क्षेत्र र व्यवसायीप्रति आम जनताको दृष्टिकोण केही नकारात्मक देखिन्छ । त्यसमा सुधार आउनु जरुरी छ । वास्तवमा, कुनै पनि उद्यमीले सामाजिक सेवाका लागि मात्र नभई प्रतिफल प्राप्त गर्ने उद्देश्यले नै ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । नयाँ उद्यमीहरूलाई आकर्षित गर्नका लागि लगानीबाट उचित नाफा कमाउन पाउने वातावरण हुनुपर्छ ।

यसैगरी, बैंकमा भएको पैसा बैंकको निक्षेप मात्र नभई आम जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हाम्रो मुख्य दायित्व हो । हाल देशका केही भागमा ‘बैंकको ऋण तिर्नुहुँदैन’ भन्दै भइरहेका आन्दोलनहरूले मुलुकको अर्थतन्त्रलाई गम्भीर संकटतर्फ लैजान सक्छन् । बैंकहरूले समेत पछिल्लो तीन वर्षदेखि उचित लाभांश वितरण गर्न नसकेको यथार्थलाई सर्वसाधारणले बुझ्नुपर्छ । बैंकले गर्ने सामान्य मुनाफालाई ईर्ष्याको विषय बनाइनुहुँदैन ।

त्यसैगरी, वैदेशिक लगानी भित्र्याउनका लागि मुलुकमा लगानीमैत्री वातावरण र आर्जित प्रतिफल सहजै लैजान पाउने सुनिश्चितता हुनुपर्छ । तथ्यांकले पनि नेपालमा वैदेशिक लगानी उत्साहजनक नभएको देखाउँछ । त्यसैले, कसैले वैधानिक रूपमा धनार्जन गर्दा खुसी हुने र लगानीलाई सुरक्षा दिने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
मुलुकको विकासका लागि सबै क्षेत्रको एकीकृत प्रयास र सहयोग अपरिहार्य छ । विशेषगरी सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । हाल जलविद्युत् लगायतका परियोजना सञ्चालन गर्दा स्थानीय स्तरबाट अवरोध पुर्‍याउने प्रवृत्ति देखिएको छ । यस्ता परियोजनाहरू व्यक्तिगत सम्पत्ति मात्र नभई राष्ट्रिय गौरव र सम्पत्ति हुन् भन्ने बुझ्न आवश्यक छ । स्थानीय क्षेत्रमा विकास हुनु भनेकै राष्ट्रको विकास हुनु हो । व्यवसायीहरूले पनि आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय विकास र सामाजिक उत्तरदायित्वमा खर्च गर्न हिचकिचाउनु हुँदैन । तर, व्यवसाय फस्टाउनै नदिई प्रतिफलको मात्र आशा राख्नु ‘सुनको अण्डा दिने कुखुरालाई सुरुमै मार्नु’ जस्तै आत्मघाती कदम हुनेछ ।

यसैगरी, सरकारी तहमा पनि नीतिगत र प्रक्रियागत सुधारको खाँचो छ । कम्पनी दर्तादेखि सञ्चालनको चरणसम्म विभिन्न प्रशासनिक व्यवधानहरू विद्यमान छन् । लगानी बोर्डले लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने नीति लिए पनि कार्यान्वयनका प्रत्येक चरणमा झेल्नुपर्ने झन्झटका कारण लगानीकर्ताहरू निराश भएर फर्कने अवस्था छ । विकास र लगानीलाई वास्तविक रूपमै प्रोत्साहन गर्ने हो भने सरकारी प्रक्रियालाई सरलीकृत गर्दै प्रभावकारी ‘एकद्वार प्रणाली’ पूर्ण रूपमा लागू गर्नु आजको आवश्यकता हो ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका