जोडिनुहोस
सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • कम्युनिस्टसँग मिलेर घुमिफिरी सत्ताको चास्नीमा डुब्दा कांग्रेसलाई जनताले सजाय दिए’

कम्युनिस्टसँग मिलेर घुमिफिरी सत्ताको चास्नीमा डुब्दा कांग्रेसलाई जनताले सजाय दिए’

नेपाली कांग्रेस ८० वर्षको लिगेसी भएको पार्टी हो। यो अनुभव, ज्ञान भएको पार्टी पनि हो। तर विगत केही वर्षदेखि कांग्रेस सत्ता राजनीतिमा अस्वाभाविक रुपमा गएर घुमिरह्यो। जसले गर्दा यो निर्वाचनमा पहिलो हुने अनुमान गरिएको पार्टीको जनमत निकै खस्किएको छ। भर्खरै उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाई सिटको नजिक पुग्दा कांग्रेस इतिहासमै कमजोर दल बन्दैछ। यसको कारण छर्लंग नै छ। पछिल्लो दशक कांग्रेस एमाले र माओवादीसँग पालैपालो सत्तामै रजगज गरेर बस्यो।

जनमत कस्तो बन्दैछ भन्ने कुरा उसले सुन्नै चाहेन। यसरी जनतासँग दूरी बढाउँदै गएसँगै जनता कांग्रेससँग बिच्किए। जनतामा निराशा छाएको थियो। यता पार्टीभित्र आपसी घर्षण उस्तै तरिकाले बढ्नु दुर्भाग्य बनिदियो।

अर्को विषय भनेको संगठनको नेतृत्वमा बसेकाले गल्ती गर्दाको परिणाम पनि संगठनले भोग्नुपर्छ। कहिलेकाहिं गलत नेतृत्वको उदय पनि हुनसक्छ। यस किसिमको अतिवादको प्रतिवाद जनताले गर्छन् नै। यो पनि यसपटकको ‘ब्यालेट’मा देखियो।

माओवादीको द्वन्द्वमा पनि कांग्रेसले दु:ख भोगेकै हो। राजाको शासनमा पनि कांग्रेसले दु:ख झेलेकै हो। यस्ता दु:ख भोगेर पनि कांग्रेसले ‘बाउन्स ब्याक’ गरेको हो। कुनै बेला कांग्रेसका लागि भनेर वर्षौं जेल बस्न तयार जनता कांग्रेससँग किन रुष्ट बने? मुख्य कारण नेतृत्वको सत्ता मोह नै हो।

सत्ता मोहमा नलाग्ने भन्दै यसपटक कांग्रेसले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व ल्यायो। तर चुनावको मुखैमा महाधिवेशन हुँदा यसको खासै प्रभाव परेन। बरु ब्यालेटमा असर देखियो। नयाँ नेतृत्वले खारिएका पुरानो नेतृत्वसँग समन्वय गर्न सकेन।

ठूलो पृठभूमि बोकेर खारिएर आएका साथीहरुको लामो पंक्ति छ। यसका लागि समय पनि अपुग देखियो। जसकारण कांग्रेसकै कार्यकर्तामा नैरश्यता छायो। उनीहरु अलमलमा परे। कांग्रेसभित्र सुधारको आवश्यकता थियो। सुधार पनि भयो। तर यो अधुरो भयो। जसका कारण पनि निर्वाचनमा आंशिक प्रभाव देखियो।

पार्टीमा निष्ठा सबैभन्दा ठूलो विषय हो। सत्ता पनि चाहिन्छ तर सत्ताका लागि सिद्धान्त भुलेर सम्झौता गर्न हुन्न। गैर सैद्धान्तिक गठबन्धन र जनताको भावनालाई निरन्तर उपेक्षा गर्ने नेतृत्वको अहंकारी कार्यशैलीका कारण कांग्रेसले आफ्नो ठूलो जनाधार गुमाएको छ।

नजिक र सँगै हुर्किएका बाँसहरु जोडले हावा चलेका बेला अरणी मन्थन गर्दा झैं आफ्नै घर्षणले निष्केको आगोले नष्ट हुने दुर्भाग्यले पनि कांग्रेसलाई अझै छाडेको छैन। पार्टीभित्र यस्तै प्रकारको चरम गुटबन्दी अझै छ। विशेष महाधिवेशनलाई देखाउँदै कति साथीहरु निस्क्रिय बसिदिए।

कांग्रेसले बोलेको गर्छ भन्ने थियो। पछिल्लो नेतृत्वले त्यो भरोसा दिलाउन सकेन। कांग्रेसले गरेका संघर्षहरु जनताले सुन्न चाहेनन्। जनताको कुरा नसुन्ने पार्टीले भनेको कुरा जनताले पनि सुनिदिँदैन।

यो चुनाव परिणामले कांग्रेसको एउटा पंक्ति निराश हुन सक्छ। तर मलाई विश्वास छ निरन्तर संघर्ष र बलिदानको अग्निपरीक्षाबाट खारिएको कांग्रेसका साथीहरुको विशाल पंक्ति यो प्रतिकूल परिणामलेसमेत विचलित हुने छैन। नेतृत्वले असल आचरण बनाउनुपर्छ। जे परिवर्तन जनताले खोजेका छन्, त्यसमा जोडिनुपर्छ। यो काम गरेर देखाउन पनि सक्नुपर्छ।

कांग्रेसभित्र सुधारको प्रकियाले थप गति लिनु पर्छ, आत्मसमीक्षा गर्दै जनतासँग टुटेको सम्बन्ध थप जोड्दै जानु पर्छ। सजग हुनुपर्छ। जनताको भावनासँग जोडिनुपर्छ। जनताको आलोचना सुन्नुपर्छ। आफूलाई पहिले झैं रिलेभेन्ट राखेर राजनीतिमा अपडेट हुनुपर्छ। लोकमतअनुसार हामी चल्नुपर्छ। लोकमतबाटै हामीले गति र ऊर्जा पाउने हो।

कांग्रेस राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने पार्टी हो। यसको राष्ट्रिय भूमिका मेलमिलाप हो– भौगोलिक हिसाबले, धार्मिक हिसाबले। यतिमात्र होइन दुई छिमेकसँग कस्तो सम्बन्ध बनाउने भन्ने विषयमा पनि अहम भूमिका निभाउँदै आएको पार्टी हो कांग्रेस।

आगामी दिनमा निष्ठा, विनम्रता र कार्यदक्षता युवा नेतृत्वको गहना बन्नुपर्छ र संगठनलाई गुटबन्दीको धमिराबाट मुक्त गर्ने र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम ल्याउन सकेमा पहिले झैं बाउन्स ब्याक हुन समय लाग्ने छैन। (नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आचार्यसँग गरिएको कुराकानीमा आधारित।)

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?