
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बिहीबारको निर्णयको मिति राखेर उनको सरुवा गरिएको हो । लामो समयदेखि शक्तिकेन्द्रसँग निकट रहेर राज्य संयन्त्रमा प्रभावशाली भूमिकामा रहँदै आएका सचिव पुष्करलाई यसपटक भने कुनै मन्त्रालय वा निकायको जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको उच्च स्रोतले जनाएको छ । सरकारी सेवामा प्रवेश गरेयता उनी अतिरिक्त समूहमा तानिएको यो पहिलोपटक हो ।
२०५९ सालको शाखा अधिकृत ब्याच नम्बर १८ का पुष्कर निजामती सेवामा प्रवेश गरेदेखि नै सधैँ महत्त्वपूर्ण जिम्मेवारी र आकर्षक अवसरहरू प्राप्त गर्ने अधिकारीका रूपमा चिनिँदै आएका छन् । उनी प्रशासनिक क्षेत्रमा प्रदेश सरकारमा एकपटक पनि नखटिई सोझै संघीय सचिव बन्न सफल भएका केही दुर्लभ अधिकारीहरूमध्ये एक मानिन्छन् । हालैका दिनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको भनिएको एउटा सन्देश सार्वजनिक भएपछि सचिव पुष्कर थप चर्चा र विवादमा आएका थिए । उक्त घटनाको केही समयपछि नै उनको यो सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यद्यपि, सरकारले उनलाई जिम्मेवारीविहीन बनाएर अतिरिक्तमा राख्नुको कुनै औपचारिक कारण भने सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार सचिव पुष्करको सरुवासम्बन्धी निर्णय बिहीबार नै भइसकेको भए तापनि त्यसबारेको औपचारिक पत्र र जानकारी सम्बन्धित निकायहरूमा क्रमशः पठाउने प्रशासनिक प्रक्रिया जारी रहेको छ । यस सरुवालाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































