जोडिनुहोस
बिहिबार, जेष्ठ २८, २०८३
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • कुमारी बैंकद्वारा नेपालको पहिलो ‘एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म’ सञ्चालनमा

कुमारी बैंकद्वारा नेपालको पहिलो ‘एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म’ सञ्चालनमा

कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ सेवालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य सहित नेपालको पहिलो ‘एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म’ सार्वजनिक गरेको छ। बैंकले उक्त सेवा आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अनुसार अब व्यवसायी ग्राहकहरूले डिजिटल माध्यमबाटै बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। यस सेवामार्फत लामो कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ। कर्जा आवेदनदेखि स्वीकृति, वितरण र भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीबाट सम्पन्न हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

उक्त प्रणालीमार्फत व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातसम्बन्धी वास्तविक समयको विवरणका आधारमा कर्जा योग्यता मूल्याङ्कन गरिनेछ। यसले परम्परागत धितोको आवश्यकता बिना नै व्यवसायीलाई छिटो तथा सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने बैंकको दाबी छ।

बैंकका अनुसार उक्त डिजिटल प्रणाली प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कारोबारको आधारमा अधिकतम ५ लाख रुपैयाँसम्म चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्। प्राप्त कर्जा १२ महिनासम्म समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। साथै, सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आगामी दिनमा कर्जा सीमा थप विस्तार गरिने योजना रहेको बैंकले जनाएको छ।

यो पहल डिजिटल कर्जा सेवा विस्तार र वित्तीय पहुँच अभिवृद्धि गर्ने नेपाल राष्ट्र बैंकको अवधारणाअनुरूप रहेको बैंकको भनाइ छ। विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी ल्याइएको यस सेवाले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

नेपालमा रहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस सेवाले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

हाल कुमारी बैंकले देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। बैंकले प्रविधिमैत्री वित्तीय सेवामार्फत डिजिटल रूपान्तरणलाई थप गति दिने र आगामी दिनमा अझ सरल, सहज तथा उत्कृष्ट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?