
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुनलामा १३ करोड रुपैयाँ (३.७१ प्रतिशत) कम नाफा गरेको हो । खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन बढे तापनि बैंकको नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम बढेपछि नाफा घटेको हो । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। ९ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ करोड रुपैयाँले बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यसैगरी खुद फि एन्ड कमिसन ३६ करोड रुपैयाँले बढेको छ । तर, नोक्सानी व्यवस्था भने गत आवको सोही अवधिको २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७४ लाख रुपैयाँ गर्नुपरेको छ ।
नाेक्सानी व्यवस्थामा वृद्धि भएपनि बैंकककाे खुद सञ्चालन आम्दानी करिब २५ कराेड रुपैयाँले बढेकाे छ। तर, तलब भत्ता र अन्य सञ्चाल खर्चमा वृद्धि हुँदा बैंककाे सञ्चालन नाफासँगै खुद नाफा पनि घटेकाे छ । बैंकले ९ महिनाको अवधिमा कर्जा उच्च गतिमा बढाएको देखिन्छ । असार मसान्तसम्म २ खर्ब १३ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । नयाँ कर्जा प्रवाहका कारण पनि फि एन्ड कमिसन आम्दानी बढेको हो भने नोक्सानी व्यवस्था सोही अनुरुप थप गर्नुपरेको हो । कर्जा बढेपनि अधिक तरलताले बैंकहरुबीच बढेकाे प्रतिस्पर्धाका कारण ब्याजदर अन्तर (स्प्रेड दर) घटेकाे छ । जसले गर्दा कर्जा विस्तार ३७ अर्बभन्दा माथिले विस्तार गर्दापनि बैंककाे खुद ब्याज आम्दानी भने ९ कराेड रुपैयाँले मात्रै बढेकाे छ । गत आबकाे तेस्राे त्रैमासमा ३.६७ प्रतिशत रहेकाे बैंककाे स्प्रेड रेट घटेर ३.१२ प्रतिशतमा झरेकाे छ ।
यता बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतमा सीमित छ । पुँजी पर्याप्तता अनुपात १२.८७ प्रतिशत हुँदा प्राथमिक पुँजी अनुपात ९.५८ प्रतिशत छ । एभरेष्ट बैंकको सीडी रेसियो ८५.८८ प्रतिशत, बेसरेट ४.५७ प्रतिशत, ब्याजदर स्प्रेड ३.१२ प्रतिशत हुँदा स्वपुँजीमा प्रतिफल (रिटर्न अन इक्विटी) १३.५६ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ, ईपीएस ३२.३५ रुपैयाँ (गत आवको चैत मसान्तसम्म ३५.६१ रुपैयाँ रहेको) र पीई रेसियो २१.५८ रहेको छ । यस अवधिमा बैंकको बक्यौता ब्याज बढेको छ भने गैरबैंकिङ सम्पत्ति घटेको छ । फलस्वरुपः ९ महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको बैंकले यो नाफामध्ये १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्न सक्छ । गत आवसम्मको सञ्चित नाफा जोड्दा बैंकको कुल रिटेन्ड अर्निङ ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । यो सञ्चित नाफाको आधारमा बैंकको वार्षिकीकण गरिएको लाभांश क्षमता ३९.३४ प्रतिशत हुन जान्छ । हाल बैंकको चुक्तापुँजी १३ अर्ब ७२ करोड १४ लाख रुपैयाँ छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































