जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अवैध विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका चालक विमानस्थलबाट पक्राउ

अवैध विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका चालक विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको अवैध स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका एक सवारी चालक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयले निगममा विगत १६ वर्षदेखि ग्राउन्ड इक्विपमेन्ट अपरेटर (जीईओ) का रूपमा कार्यरत ५० वर्षीय कमल नारायण विश्वासलाई पक्राउ गरेको हो ।

सुनसरीको गढी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौंको वनस्थली बस्ने विश्वास सोमबार बेलुका बाटिका एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने तयारीमा थिए । प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ र प्रहरी टोलीले गरेको शारीरिक खानतलासीका क्रममा उनको साथबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्राहरू फेला परेको हो । उनले उक्त अवैध मुद्रा आफ्नो कालो रङको लगेजभित्र फलामको कराइमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा सुरक्षाकर्मीले बरामद गरेका हुन् ।

प्रहरीका अनुसार उनको राहदानी चेकजाँच गर्दा उक्त विदेशी मुद्राको वैधानिक विनिमय वा दरपिठ भएको कतै देखिएको छैन । विगतको यात्रा विवरण हेर्दा उनी यसअघि २६ पटक विभिन्न मुलुक पुगिसकेको खुलेकाले उनी लामो समयदेखि अवैध मुद्रा ओसारपसारमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

उनको साथबाट १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, २३ हजार ६३२ मलेसियन रिंगिट, ४१ हजार जापानी येन, ७ हजार ७७० श्रीलंकन रुपैयाँ, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, १ हजार वेस्ट अफ्रिकन मिल फ्रान्क र ११ लाख नेपाली रुपैयाँ बरामद गरिएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ परेका विश्वासलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

null

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका