जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हनी ट्र्याप र ठगीको आरोपमा तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

हनी ट्र्याप र ठगीको आरोपमा तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

हनी ट्र्याप अर्थात् आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेकी तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ. जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो. केही दिनअघि मात्रै थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो. जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि नै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो. पीडित कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा प्रहरीले अधिकारीमाथि अनुसन्धान अघि बढाएको थियो.

सुरुमा सामान्य चिनजानका क्रममा चिमोरियाले अधिकारीलाई नजिक बनाई जीवनयापन सहज होस् भनेर बुटवलबाट काठमाडौँ ल्याएर ललितपुर ग्वार्कोको मेगा मोटर्समा काम समेत लगाइदिएका थिए. त्यहाँ उनले ३ महिना काम गरिन्. तर, अधिकारीले चिमोरियासँग सम्बन्धमा रहँदाका अन्तरंग फोटो र भिडियो गोप्यरूपमा रेकर्ड गर्ने गरेकी थिइन्. पछि तिनै फोटो र भिडियो सार्वजनिक गरिदिने, श्रीमती र परिवारलाई देखाइदिने धम्की दिँदै उनले पटक-पटक गरी करोडौँ रकम असुलेको पुष्टि भएको छ. यसरी आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण गरी अधिकारीले २०८२ असार १० गते ललितपुरको सैंबु–४, भैंसेपाटीमा ४ आना क्षेत्रफलमा बनेको कम्तीमा ४ करोड रुपैयाँको घर खरिद गरेको खुलेको छ. त्यसको ६ महिनाअघि २०८१ माघ २४ गते उनले रुपन्देहीको बुटवलमा समेत जग्गा खरिद गरेकी थिइन्.

नेपालमा उनको आयस्रोत सामान्य देखिए पनि प्रहरी अनुसन्धानबाट अधिकारीले हुन्डीमार्फत रकम ओसारेर चीनमा समेत कम्पनी स्थापना गरी व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ. यति मात्र नभई, उनले आफ्नी छोरीलाई वार्षिक १५ लाख रुपैयाँ शुल्क तिरेर चीनकै एक विद्यालयमा अध्ययन गराइरहेको समेत अनुसन्धानबाट भेटिएको छ. यसरी ब्ल्याकमेलिङ र अवैध वित्तीय कारोबारमार्फत अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतले उनलाई मुद्दाको किनारा नलागेसम्मका लागि थुनामा राख्न आदेश दिएको हो.

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्