
चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार (प्रथम बीमाशुल्क) २३.३१ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले यस अवधिमा कुल ३९ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए।
नयाँ व्यापार भित्र्याउने प्रतिस्पर्धामा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। यस कम्पनीले अघिल्लो वर्षको तुलनामा २८.५१ प्रतिशतले व्यापार वृद्धि गर्दै सर्वाधिक १० अर्ब १६ करोड ६८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। त्यसैगरी, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १९.८४ प्रतिशतको वृद्धिसहित ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले २४.०२ प्रतिशतले व्यापार बढाएर २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। सूर्यज्योति लाइफले पनि १९.०५ प्रतिशतको वृद्धिसहित २ अर्ब ८० करोड ५६ लाख रुपैयाँ नयाँ व्यापार आर्जन गरेको छ।
प्राधिकरणको तथ्यांकअनुसार अन्य कम्पनीहरूमध्ये सिटिजन लाइफले २ अर्ब ४५ करोड २० लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब २६ करोड ५६ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २४ करोड ८३ लाख रुपैयाँ र एसियन लाइफले २ अर्ब १२ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा आइएमई लाइफको नयाँ व्यापार वृद्धिदर सबैभन्दा उच्च ७९.१९ प्रतिशत रहेको छ भने सिटिजन लाइफको ४१.५४ प्रतिशत, एसियन लाइफको ३३.४५ प्रतिशत र हिमालयन लाइफको ३.७३ प्रतिशतले बढेको छ।
त्यस्तै, रिलायबल नेपाल लाइफले १ अर्ब ८३ करोड ७० लाख (३७.७०% वृद्धि), सानिमा रिलायन्स लाइफले १ अर्ब ८२ करोड ३ लाख (२१.९८% वृद्धि) र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ९० लाख (२९.३४% वृद्धि) रुपैयाँ नयाँ व्यापार आर्जन गरेका छन्। बाँकी कम्पनीहरू मेट लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफले क्रमशः १ अर्ब ४४ करोड ५६ लाख, १ अर्ब ११ करोड ७० लाख र १ अर्ब ७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको तुलनामा यी कम्पनीहरूको नयाँ व्यापार क्रमशः १४.८८ प्रतिशत, १६.४१ प्रतिशत र १७.०३ प्रतिशतले वृद्धि भएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































