
मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशका सरकारी विद्यालयमा अध्ययनरत १,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा सहयोग प्रदान गरेको छ।
बैंकले शिक्षाको प्रवर्द्धन र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री, डिजिटल स्मार्ट बोर्ड, सिलिङ पंखा तथा एक शैक्षिक वर्षको अध्ययन खर्च सहयोग गरेको जनाएको छ।
कार्यक्रमअन्तर्गत मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासमा १२८ जनालाई स्टेशनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।
त्यसैगरी रुपन्देहीको बुटवलमा २१ वटा स्कुल ब्याग, उदयपुरको बागचौरीमा ५० जनालाई स्कुल ब्याग, झापाको कचनकवलमा २०० जनालाई स्कुल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कुल ब्याग, सर्लाहीको राजघाटमा २०० विद्यार्थीलाई स्कुल ब्याग तथा कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कुल ब्याग र स्टेशनरी सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
यसका साथै बैंकले सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत व्यहोरेको छ।
बैंकले सुर्खेतको वीरेन्द्रनगर–८ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरामा एक थान डिजिटल स्मार्ट बोर्ड, रुपन्देहीको देवदह–१०, चरङ्गेमा चार थान सिलिङ पंखा तथा महोत्तरीको बर्दिबास–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय र रुपन्देहीको बुटवल–७ स्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरेको जनाएको छ।
बैंकका अनुसार उक्त सहयोगले आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































