बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको बिओके डिबेञ्चर २०८६ छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।
प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको १६ लाख कित्ता मध्य बैंकले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ४० हजार कित्ता मध्य ३२ हजार कित्ता सामूहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।
सर्वसाधारणहरुले सार्वजनिक निष्कासमा आएको ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ३ लाख कित्तासम्म माग गर्न सकिनेछ व्यवस्था छ । यो ऋणपत्र विक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते स्वीकृति पाएको थियो । ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।