जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको उप कार्यकारी निर्देशकमा घिमिरे र देवकोटाको बढुवा

धितोपत्र बोर्डको उप कार्यकारी निर्देशकमा घिमिरे र देवकोटाको बढुवा

नेपाल धितोपत्र बोर्डको उप कार्यकारी निर्देशकमा कृष्ण प्रसाद घिमिरे र तेज प्रसाद देवकोटा बढुवा भएका छन् । धितोपत्र बोर्डको पदपूर्ति समितिको कार्तिक २१ गतेको बैठकले बढुवाको लागि प्राप्त आवेदन मध्येबाट कार्यसम्पादन मुल्यांकनको आधारमा  घिमिरे र देवकोटालाई बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस भएका घिमिरे र देवकोटा यस अघि कायम मुकायम उप कार्यकारी निर्देशक थिए ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को ब्यबस्था अनुसार बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । निर्वाचन आयोगको स्वीकृत लिएर नै बढुवा प्रर्किया अघि बढाईएको बोर्डले जनाएको छ ।

अब बढुवाको सिफारिशमा चित्त नबुझ्ने उम्मेदवारले सबै आधारहरू खोली बढुवाको नामावली प्रकाशित भएको मितिले पैंतीस दिनभित्र अध्यक्ष मार्फत संचालक बोर्ड समक्ष उजूर गर्न सक्नेछ । यसरी आएका उजुरी उपर कारवाही गर्दा प्रकाशित नामावली संशोधन गर्नुपर्ने कारण देखेमा पदपूर्ति समितिलाई संशोधित नामावली प्रकाशित गर्न निर्देशन दिने ब्यबस्था नियमावलीमा छ । त्यस्तो संशोधित नामावलीको प्रकाशन उजुरी परेको साठी दिनभित्र गर्नुपर्नेछ । कुनै उजुरी नपरेमा वा परेको उजुरीमा कारवाही भै संशोधित नामावली प्रकाशन गर्नु नपरेमा पहिलो पटक प्रकाशित भएको नामावलीलाई सदर मानी सो नामावली प्रकाशन भएको मिति देखि लागू हुने गरी सिफारिश भएका उम्मेदवारलाई नियुक्ति पत्र दिनुपर्ने ब्यबस्था नियमावलीले गरेको छ ।

बढुवा सिफारिस बिरुद्द अन्य कुनै उजुरी नपरेमा कृष्ण प्रसाद घिमिरे र तेज प्रसाद देवकोटा स्वत उप कार्यकारी निर्देशक हुने छन् । सो सँगै बोर्डमा ८ जना उप कार्यकारी निर्देशक हुने छन् ।  हाल बोर्डमा रुपेश केसी, दिपा दाहाल, निरंजय घिमिरे, अम्बिका प्रसाद गिरि, नारायण प्रसाद शर्मा, र दिपेश ताम्राकार उप कार्यकारी निर्देशन छन् ।

बोर्डले असोज १६ गते बढुवाको लागि आवेदन दिन आग्रह गरेको थियो । बोर्डले १६ जना कर्मचारीको बढुवाको लागि सूचना प्रकाशन गरेको थियो ।  बोर्डले कार्यकारी निर्देशक पदमा २ जना, उप कार्यकारी निर्देशक पदमा २ जना, प्रशासन समुहको निर्देशकमा ६ जना, कानुन समुहको निर्देशकमा १ जना, लेखा समुहको निर्देशकमा १ जना, सूचना प्रविधि समुहको निर्देशकमा १ जना, प्रशासन समुहको सहायक निर्देशकमा २ जना, र प्रशासन समुहको बरिष्ठ सहयक पदमा १ जनाको बढुवा गर्नको लागि आवेदन माग गरेको थियो ।

बोर्डको बढुवा सिफारिस समितिले केहि दिन अघि मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेललाई कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो।

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ ।

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका