जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सुपर तमोरमा आधा दर्जन बैंकको १९ अर्ब लगानी

सुपर तमोरमा आधा दर्जन बैंकको १९ अर्ब लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । उक्त आयोजनाका प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यसहित सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहअगुवाइमा रहेका छन् भने कृषि विकास बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेड सहभागी रहेका छन् ।

कन्सोर्टियममार्फत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४/४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमतामा वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने उक्त आयोजनामा बैंकहरूले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ । १६६ मेगावाट क्षमताको सुपर तमोरको कुल लागत २५ अर्ब ३३ करोड अनुमान गरिएको छ ।

आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समयमा बन्दा आयोजना निर्माण लागत प्रतिमेगावाट १५ कराेड २५ लाख अनुमान गरिएको छ । ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’ तथा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्दै आएको जनाएको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका