जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एफएनसीसीआईमा पुन: प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई जना वरिष्ठ उपाध्यक्ष

एफएनसीसीआईमा पुन: प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई जना वरिष्ठ उपाध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघ (एनएनसीसीआई) फेरी प्रत्यक्ष निर्वाचित अध्यक्षकै व्यवस्थामा फर्किएको छ। अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्तावमा सम्पूर्ण कार्यसमिति एकमत भएपछि आगामी मंसिरसम्म हुने साधारण सभामा प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्थालाई एजेण्डाका रुपमा लाने निर्णय सोमबार भएको हो।

‘मैले निर्वाचन लड्दा नै प्रत्यक्ष निर्वाचित अध्यक्षमा फर्काउँछु भनेको थिएँ,’ ढकालले भने, ‘लामो समयदेखि विधान संशोधनमा अलमल भइरहेको थियो। सहमति पनि बन्न सकेको थिएन। यसपालि सिंगो कार्यसमितिले साथ दिएको छ। आज ऐतिहासिक निर्णय भएको छ।’

अहिले महासंघमा वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष चुनिने र त्यसपछि अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने व्यवस्था छ। यो व्यवस्थाले कार्यसमितिमा पनि दुई धारजस्तो देखिने र काबिल उद्योगी व्यवसायी किनारा लाग्ने जस्तो भइरहेको थियो। विगतमा अध्यक्षमा प्रतिस्पर्धा नहोस् भनेर प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था हटाइएको थियो।

पछि पुरानै व्यवस्था ल्याउन पूर्वअध्यक्ष चण्डीराज ढकाल र कुशकुमार जोशीको फरक फरक समयमा समिति बनेको थियो। त्यहाँबाट हल ननिस्किएपछि अध्यक्ष ढकाल आफैं अगाडि सरेका हुन्।

‘साधारण सभामा जे हुन्छ म फेस गर्छु भनेर गइयो। त्यसमा कार्यसमितिमा एक मत बन्यो,’ उनले भने।

अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ छन्। उनी स्वत: अध्यक्ष हुन पाउने छन्। उनीपछि अर्को एक पटक पनि वरिष्ठ उपाध्यक्ष प्रत्यक्षबाट चुनिने छ। त्यसरी चुनिएको व्यक्ति अध्यक्ष भइसकेपछि भने महासंघमा प्रत्यक्ष रुपमा अध्यक्ष चुनिने भनेर समय सीमा तोकिएको छ।

‘अहिलेको वरिष्ठ उपाध्यक्ष र त्यसपछि आउने अर्को एक वरिष्ठ उपाध्यक्षको कार्यकाल सकिएपछि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था सुरु हुने भनेर निर्णय भएको छ,’ ढकालले भने। उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षहरुको संख्या पनि थप हुनेछ।

अहिले एक वरिष्ठ उपाध्यक्षका साथै तीन जना उपाध्यक्षको व्यवस्था छ। कार्यसमितिको सर्वसम्मत निर्णय साधारण सभाबाट पारित भएमा वरिष्ठ उपाध्यक्ष दुई जना हुने छन्। एक जना जिल्ला नगरबाट र अर्का वस्तुगत र एसोसियटबाट वरिष्ठ उपाध्यक्ष हुने छन्।

उपाध्यक्षको संख्या पनि थप गरिएको छ। अहिले जिल्ला नगर, वस्तुगत र एसोसियटबाट एक/एक जना उपाध्यक्ष रहेकामा अब एक जना महिला उपाध्यक्ष पनि थप्ने निर्णय कार्यसमिति बैठकले गरेको छ।

385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका