जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सोंचेजस्तो नराम्रो छैन अर्थतन्त्र, सूचकहरुमा देखियो सकारात्मक संकेत

सोंचेजस्तो नराम्रो छैन अर्थतन्त्र, सूचकहरुमा देखियो सकारात्मक संकेत

लामो समयदेखि चुनौती खेपिरहेको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ का तथ्यांक अनुसार अधिकांश सूचक सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वार्षिक तथ्यांक अनुसार मुलुकको आर्थिक वृद्धिदर, मुद्रास्फीति, निर्यात, विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति लगायतका सूचक अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख देखिएका छन् । यसले नेपालकै अर्थतन्त्र सोंचेजस्तो नराम्रो अवस्थाबाट बाहिरिँदै स्थिरता र विकासतर्फ अघि बढिरहेको संकेत दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरेको छ । अघिल्लो वर्ष योदर ३.६७ प्रतिशत मात्र थियो । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले समेत नेपालका लागि अपेक्षाकृत ढिलो तर स्थिर सुधार हुने आँकलन गर्दै आएका थिए । यसपटकको तथ्यांकले त्यो अनुमानलाई पुष्टि गरेको छ । तथ्यांक अनुसार कृषि, सेवा र उद्योग क्षेत्र सबैमा थोरै भए पनि सुधार देखिएको छ । पर्यटन क्षेत्र पनि पुनः लयमा फर्किन थालेको छ, जसको असर कुल उत्पादनमा देखिएको हो ।

आर्थिक सुचकको अर्को महत्वपूर्ण भाग हो– मुद्रास्फीति । अघिल्लो वर्ष ५.४४ प्रतिशत रहेको वार्षिक औसत मुद्रास्फीति यसवर्ष ४.०६ प्रतिशतमा झरेको छ। मूल्यवृद्धि नियन्त्रणमा आउँदा उपभोक्तामा सहजता अनुभव भएको छ । विशेषगरी खाद्यान्न, तरकारी, इन्धन र अन्य आवश्यक वस्तुहरूमा मूल्यवृद्धि अपेक्षाकृत न्यून देखिएकोले सामान्य उपभोक्ताको दैनिकीमा पनि सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

अर्थतन्त्रको स्वास्थ्य मापन गर्ने महत्वपूर्ण सूचक शोधनान्तर स्थितिमा पनि उल्लेखनीय सुधार भएको छ । यो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष यो ५ खर्ब २ अर्ब ४९ करोड मात्रै थियो ।
यससँगै कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चिति १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति सुदृढ हुनु नेपाल जस्तो आयातमुखी अर्थतन्त्रका लागि ठूलो राहतको विषय हो ।

पछिल्ला वर्षहरूमा निर्यातमा निरन्तर गिरावट आएकोमा यसपटक भने उत्साहजनक सुधार भएको छ । आयात १३.३ प्रतिशतले बढ्दा निर्यात झनै ८१.८ प्रतिशतले उकालो लागेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले घटेको र निर्यात ३ प्रतिशतले घटेको तथ्यांक थियो । निर्यातमा भएको उल्लेखनीय वृद्धि नेपालको उत्पादन र वैदेशिक बजार विस्तारमा भएको प्रयास सफलतामा परिणत हुँदै गएको संकेत हो । निर्यात बढ्नु, आयात नियन्त्रणमा रहनु र शोधनान्तर सकारात्मक हुनु दीर्घकालीन अर्थतन्त्रका लागि सुखद मानिन्छ ।

नेपालको अर्थतन्त्रमा प्रमुख आधार मानिने विप्रेषण आप्रवाह यसवर्ष पनि उच्च दरमा बढेको छ । नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशत वृद्धि भइ २०८२ असारसम्ममा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
विदेशमा रोजगारीका लागि गएका श्रमिकहरूको योगदान नेपालको विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनमा महत्वपूर्ण रहँदै आएको छ । पछिल्लो तथ्यांकले अझै केही वर्ष नेपाल विप्रेषणमै निर्भर अर्थतन्त्र रहिरहने देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ । निक्षेप र कर्जामा भएको वृद्धि मुलुकको आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत हो । व्यवसायिक लगानी, घरजग्गा कारोबार र अन्य क्षेत्रमा क्रियाशीलता बढेको छ भने उपभोग पनि विस्तार हुँदै गएको छ ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका