जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

५ जीवन बीमा कम्पनीको साधारण सेयर आउँदै, तीन वटाको प्रिमियम मूल्य, कस्तो छ वित्तीय अवस्था ?

पाँच वटा जीवन बीमा कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्ने तयारीमा छन्। संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ वटाले सेयर जारी गरेर कारोबारसमेत भइसकेको छ।

रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ प्राथमिक सेयर निष्कासन प्रक्रियामा छन्। यी मध्ये रिलायबल, सन नेपाल र सिटिजन लाइफले भने प्रिमियम मूल्यमा  सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका छन्। पाँच कम्पनीहरूले ३ करोड १५ लाख कित्ता प्राथमिक सेयर निष्कासन हुनेछ।

सेयर लगानीकर्ता माझ लघुवित्तपछि जीवन बीमा कम्पनीको सेयर लोकप्रिय छ। ‘विद्यमान कानुन र इन्स्योरेन्सहरुको वित्तीय मूल्यांकन बमोजिम बीमा समितिले प्रिमियम मूल्य थप गर्न अनुमति दिएको छ,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिजमाण्डूसँग भने,’तथ्यांकले समर्थन गरेका इन्स्योरेन्सलाई प्रिमियम मूल्य लिन अनुमति दिइएको हो।’     

२१२ रुपैयाँको प्रिमियम मूल्यमा आइपीओ जारी गर्न रिलायबलले धितोपत्र बोर्डबाट स्वीकृत माग गरेको छ। यो कम्पनीको सेयर निष्काशन प्रक्रिया बोर्डमा होल्ड भएको छ भने सन नेपाल र सिटिजन लाइफले पनि साधारणसभाबाट सेयर निष्काशन गर्ने प्रस्ताव पास गरिसकेका छन्। सन नेपालले ६० लाख कित्ता र सिटिजन लाइफले ७५ लाख कित्ता आइपीओ निष्कासन गर्दैछन्।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार प्रिमियममा सेयर निष्कासन गर्ने संस्था पछिल्लो तीन आर्थिक वर्षसम्म लगातार नाफामा हुनुपर्ने व्यवस्था छ। यस्तै, संस्थाको प्रति सेयर चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्ने, साधारणसभाबाट पारित हुनुपर्ने, औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त हुनुपर्ने लगायतका व्यवस्था पनि छ। 

यस अतिरिक्त संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन पनि पेस गर्नुपर्ने हुन्छ। 

मूल्यांकनपछि आएको सबैभन्दा कम मूल्यलाई आधार मानेर धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपीओ निष्कासनको निवेदन पेस गरिने सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बिजमाण्डूलाई बताए।

‘हामी बीमा समितिको स्वीकृतिको प्रतिक्षामा छौं। अनुमति आए लगत्तै भ्यालुएसनको प्रक्रिया अघि बढाउने छौं,’ प्रमुख अर्यालले भने, ‘भ्यालुएसनपछि आएको अंकका आधारमा धितोपत्र बोर्डमा आइपीओ निष्कासनको निवेदन दिने तयारी छ।’   

धितोपत्र बोर्डको पाइपलाइनमा रहेको आइएमई लाइफले भने फेस भ्यालुमै ६० लाख कित्ता आइपीओ निष्कासनका लागि निवेदन पेस गरेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुँजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

व्यावसायिक पक्षमा पनि सबै कम्पनी सबल नै देखिएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका यी पाँच जीवन बीमा कम्पनी वित्तीय सूचकांकमा एक अर्कालाई टक्कर दिने क्षमता राख्छन्। कान्छो मानिने महालक्ष्मी लाइफको व्यवसाय भने अन्यको तुलनामा कमजोर देखिएको छ। यद्यपि इन्स्योरेन्सको वित्तीय सूचकहरू सकारात्मक छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक नाफा रिलायबल नेपाल लाइफले कमाएको छ। इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। सोही अवधिमा सिटिजन लाइफले ११ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउँदा सन नेपालको ८ करोड २ लाख रुपैयाँ मुनाफा गरेको हो। आइएमई लाइफले पनि ७ करोड ७९ लाख रुपैयाँ कमाएको छ। 

महालक्ष्मी लाइफको खुद नाफा भने अन्य चारको तुलनामा सर्वाधिक कम देखिएको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गर्दा भने अधिकांशको खुद नाफा सामान्य बढ्दा सन नेपाल लाइफ ४४.२३ प्रतिशतको सर्वाधिक वृद्धि दर कायम गर्न सफल छ।

नाफासँग संलग्न व्यापार विस्तार पनि हुन्छ। यी पाँच जीवन बीमामध्ये सर्वाधिक खुद बीमा शुल्क संकलन गर्न अब्बल सिटिजन लाइफ हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क ७६.४९ प्रतिशत बढेको छ। अन्यको तुलनामा सर्वाधिक वृद्धिदर सिटिजन लाइफले नै कायम गरेको छ। 

खुद बीमा शुल्क संकलनको दौडमा सिटिजन लाइफलाई पछ्याउने रिलायबल नेपाल लाइफ र आइएमई लाइफ हुन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क कमाए। सन नेपालले पनि समीक्षा अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा महालक्ष्मी लाइफको खुद बीमा शुल्क संकलन सबैभन्दा कम ६७ करोड ९१ लाख रुपैयाँ रह्यो।

सञ्चालनपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक बीमा लेख सङ्ख्या रिलायबल नेपाल लाइफको छ। यो अवधिसम्ममा इन्स्योरेन्सले ४६ लाख ९४ हजार ४७३ वटा बीमा लेख बिक्री गरिसकेको छ। 

सोही अवधिमा सन नेपाल लाइफले ४ लाख ५ हजार ६४ वटा, सिटिजन लाइफले २१ लाख २१ हजार ६९२ वटा, आइएमई लाइफले २ लाख १५ हजार ५५० वटा र महालक्ष्मी लाइफले ३३ हजार ४६८ वटा बीमालेख बिकी गरेका छन्। बीमा लेखको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा सर्वाधिक वृद्धि गर्ने सन नेपाल लाइफ हो। इन्स्योरेन्सको बीमा लेखको सङ्ख्या ४९१.७४ प्रतिशत बढेको छ। 

जीवन बीमा कोषको आकार हेर्दा पनि सिटिजन लाइफको सर्वाधिक देखिन्छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १०३.७९ प्रतिशत वृद्धि भएको इन्स्योरेन्सको जीवन बीमा कोषमा ४ अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ।    

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ८७ करोड रुपैयाँ छ। सोही अवधिमा रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित हुँदा सन नेपाल लाइफको बीमा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ छ। महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार भने सबै भन्दा सानो देखिन्छ। कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। 

हालसम्म चुक्ता पुँजीमा पनि सिटिजन लाइफ नै अघि देखिन्छ। सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ। बाँकी चारवटैको चुक्ता पुँजी समान १ अर्ब ४० करोड रुपैयाँ छ।             

एनबि बैंकको सेयरधनी आइएफआइसीको सेयर ६ अर्ब १८ करोडमा डिल: मुद्दाकै बीच मूल्य सार्वजनिक

नेपाल बंगलादेश (एनबि) बैंकको प्रमुख सेयरधनी ढाकाको आइएफआइसी बैंकले आफ्नो सेयर बिक्री गर्न लागेको विवरण सार्वजनिक गरेको छ।

आइएफआइसीले सारिका चौधरीलाई आफ्नो ४०.८९ प्रतिशत सेयर ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५६८ रुपैयाँमा बिक्री गर्न लागेको जनाएको छ।

आफ्नो वेबसाइटमा सूचना राख्दै आइएफआइसीले राष्ट्र बैंकको स्वीकृतिपछि हस्तान्तरण गरिने भनेको छ। एनबि बैंकलाई ४३ रुपैयाँमा गाभ्नका लागि चौधरी समूहको प्रमुख लगानी रहेको नबिल बैंकले सम्झौता गरिसकेको छ।

आइएफआइसीले सारिका चौधरीलाई सेयर बिक्री गर्न लागेको सूचना जारी गर्नुअघि नै जिल्ला अदालतले ‘तत्काल खरिद बिक्री नगर्नू’ भनेर आदेश जारी गरेको छ। आदेश आएपछि मर्जर सहमति भएको थियो।

यो सेयर खरिदका लागि नेपालको दुगड समूह पनि लागि परेको थियो। उसैले मुद्दा हालेको थियो। मुद्दा किनारा नलाग्दै आइएफआइसीले सेयर खरिदबिक्री सम्झौता भएको भन्दै मूल्य सार्वजनिक गरिदिएको हो।

सारिका उद्यमी विनोद चौधरीकी श्रीमती हुन्। नबिलमा चौधरी समूहको बहुमत सेयर छ।

महालक्ष्मीको आकर्षक बचत खाता, दैनिक मौज्दातमा ८.५५% ब्याज गणना गरेर भुक्तानी

 महालक्ष्मी विकास बैंकले ५१ रुपैयाँमै खोल्न सकिने महालक्ष्मी बचत वृद्धि खाता संचालनमा ल्याएको छ। बैंकले दैनिक मौज्दातमा ८ दशमलब ५५ प्रतिशत ब्याज गणना गरेर मासिक रुपमा भुक्तानी गर्ने जनाएको छ।

बैंकले यो योजना अनुसार खाता खोलेका ग्राहकले पाँच लाख रुपैयाँको दुर्घटना बीमा समेत गरिएको जनाएको छ।

बैंकले यो खाता अन्तर्गत नि:शुल्क अन्तर शाखा कारोबार, नि:शुल्क मोबाइल बैंकिङ सुविधा, नि:शुल्क अनलाइन बैंकिङ सुविधा, नि:शुल्क भिसा डेविट कार्ड र लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ।

यो वाहेक नि:शुल्क मेरो सेयर सिआस्वा तथा नि:शुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधा रहेको बैंकले जनाएको छ।

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ। 

नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ उन्नत पोलिक्लिनिक हो। जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरुमा सजिलो पहुँच प्रदान गर्दछ। 

यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमुना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८७ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

खल्ती मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने जनाएको छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टि यम आइ यस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको छ । 

बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा मन्दिरमा ८ थान सिसिटिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

नेपाल लाइफले ल्यायो आइइन्स्योर जीवन बीमा योजना, न्यून लगानीमा अधिकतम जोखिम बहन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना’ ल्याएको छ।  यस योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू. १,००,०००÷–(एक लाख) देखि अधिकतम बीमाङ्क रकम रू. १०,०००,०००÷–(एक करोड) सम्मको बीमा गर्न सकिने छ । 

उदाहरणको लागि ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक रु.५,२०६÷– बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक रु. ५८,३१०÷– बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा रु. ७,३२,१०५÷– बीमा शुल्क मात्र लाग्ने छ । 

कम्पनीका अनुसार बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १% छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु. २५,००,००० सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५,००,००० भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ । 

 योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन । 

 त्यस्तै १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००÷–(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ  ऐच्छिक सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको  रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक)  बीमितलाई फिर्ता दिइने छ ।

 बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइने छ ।

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड

यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर भएको कम्पनीले जनाएको छ।

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल – अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः रु १८० र रु ३५० रहेको छ।

कोकाकोला मोमोत्सवको सातौं संस्करण शुरु

 ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।

यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुनेछ । 

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गने ७ वर्षअघि कोका–कोला मोःमोत्सव शुरु गरेको बताए । उनले भने, ‘सातौँ वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।” 

त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै गरेको बताए । उनले यस वर्षको स्लोगन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिक हुने आशा रहेको समेत बताए ।  

नेपाल इन्भेष्टमेण्ट बैंक सहित चार कम्पनीको बोनस शेयर सूचिकृत

मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचिकृत भएको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रो फाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 

त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारीत २० प्रतिशत बोनस शेयर ,महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १९ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 

ताराले यही ११ गतेबाट फाल्गुनन्द विमानस्थलमा नियमित उडान गर्ने, कति पर्ला भाडा?

निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले आउँदो ११ गतेबाट इलामको फाल्गुनन्द विमानस्थलमा नियमीत उडान सुरु गर्ने भएको छ।

यसअघि आठ हजार सात सय रुपैयाँ भाडादर निर्धारण गरिएपनि हवाई इन्धन वृद्धि भएका कारण यसमा पुनरावलोकन गरिने योजना रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘हामीले आउँदो ११ गतेबाट यो गन्तब्यमा नियमित उडान सुरुः गर्न लागेका छौँ। पटक पटक वृद्धि भएको भाडादरका कारण यसअघि तोकिएको भन्दा तुलनात्मक रुपमा बढ्न सक्ने देखिएको छ।’ प्रवक्ता वर्तौलाले भने।

निर्माण भएको तीन वर्षपछि इलामको फाल्गुनन्द विमानस्थल संचालनमा आउन लागेको हो। तारा एयर र इलाम नगरपालिकाको सहकार्यमा यो विमानस्थलमा फागुन ८ गतेबाट संचालनमा आउने तारा एयरका सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

हवाई यातायात सेवा विस्तारसँगै इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उडान सुरु गर्न लागिएको उनले जानकरी दिए।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो

आइएमई मोटर्सले ल्यायो चालकलाई साहुजी बनाउने योजना

नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो  । 

यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् । 

कम्पनीले भनेको छ ‘यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ । ‘त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन् । नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ । ‘

नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले भने , ‘यो अफर यातायात÷ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर हो । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर हो । यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’ भन्ने कथन अनुसार छ । म हरेक व्यक्तिलाई चाँडोभन्दा चाँडो यो अफरको लाभ लिन आग्रह गर्दछु । साथै यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएकोले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गर्दछु ।’

इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।