कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।
सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव पनि त्यहाँ थिए। खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे। प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बने।
नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र छ प्रतिशत दिने बैंकले जनाएको छ । अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ ।
बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर पाँच हजार वा सो वरावरको अन्य विदेश मुद्रा हुनुपर्ने छ । एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा एक बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक गिरीले सामाजिक सुरक्षा रकम रकम बैंकबाट लिएर आएको तथा वडासचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ ।
घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ
नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकको विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ पैसा १ वर्षको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रीय बैंकका अनुसार २०७८ फागुन २ देखि २०७९ फागुन १ सम्मको लागि ३६५ दिनको लागि वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको छ । जसमा वाणिज्य बैंकमा ८ करोड ३९ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १ करोड ५७ लाख र राष्ट्रिय स्तरका विकास बैंकमा ५२ लाख रुपैयाँ राख्न लागेको छ ।
यसको लागि माघ १८ गते भित्र आफुले लिन चाहेको रकम खुलाई आवेदन दिनुपर्ने छ । यसको लागि विभिन्न शर्तहरु तोकिएका छन् । जसमा बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, खराब कर्जा ५ प्रतिशत भन्दा कम रहेको, कुनै कारबाहीमा परेको भए ६ महिना पुरा गरेको, सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरेको लगायतका शर्त रहेका छन् । ति शर्त पुरा गरेको हुनुपर्ने छ ।
उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ।
माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सिडिओको आदेशमा उल्लेख छ।
सार्वजनिक सवारीमा जोर बिजोर लागू हुँदा झनै भीड बढेको भन्दै सिडिओहरुको निर्णयको आलोचना भइरहेको थियो। कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जोर बिजोर हटाइएको हो।
यस्तै, बैठकले विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो। शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ।
सार्वजनिक स्थानमा कोप कार्डलाई अनिवार्य गर्ने यसअघिको निर्णय यथावत नै छ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गर्नेछ । सभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा तत् सम्बन्धित अनुसुचिहरु तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ ।
सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ ।
लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकको निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड १९ पिडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदनका लागि सभामा पेश गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश माघ २३ गतेसम्म कायम शेयरधनीले पाउने छन्
एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरको छ । कम्पनीको माघ १३ गते साँझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो चौंथो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैंकले उक्त सभाको मिति तय गरेको हो । सभा फागुन ६ गते हुनेछ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौंमा गर्ने जनाएको छ ।
सभा विहान ११ बजे शुरु हुने कम्पनीले सोही सुचनामार्फत उल्लेख गरेको छ । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
सभा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने(बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त हुनु योग्य रहेको) छ । कम्पनीले सभा प्रयोजनका लागि माघ २४ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्ला ३ आर्थिक वर्ष यताकै उच्च लाभांश हो ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ ।
नेपाली जीवन बीमा बजारमा नेशनल लाइफ इन्स्योरेन्सले बजार हिस्सा बढाउँदै गएको तथ्यांकले देखाउँछ । व्यवसाय बिस्तारमा नयाँ कम्पनीअघि देखिँदा पूराना कम्पनीले बजार हिस्सा गुमाउँदै गएका छन् ।
पुराना जीवन बीमा कम्पनीको बजार हिस्सा गुम्दै गएको अवस्थामा पनि नेशनलले भने बजार हिस्सा बढाउँदै गएको हो ।
बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले उक्त अवधिमा ५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
उक्त अवधिमा नेशनलले कुल जीवन बीमा बजारमा ९.७७ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ नेशनल लाइफले आफ्ना लगानीकर्तालाई दिएको ११ वर्षको लाभांश इतिहास र बीमितलाई दिएको बोनस दरको अवश्था कस्तो छ भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।
यस्तो छ नेशनल लाइफको ११ वर्षे लाभांश इतिहास नेपालमा सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान मात्रै सञ्चालनमा थियो । देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले २०४४ मा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना गरी जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय थाली गरेको इतिहास छ ।
बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था लागू गरेपछि नेशनल लाइफले पूर्णरुपमा जीवन बीमा व्यवसाय गर्न थालेको थियो ।
कम्पनीले जीवन बीमा व्यवसाय थालनी गरेको ३४ वर्ष पुगिसकेको छ । आर्थिक वर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको कम्पनीको लाभांश इतिहास हेर्दा कम्पनीले अधिकांश वर्ष सेयरधनीलाई लाभांश बाँढेको देखिन्छ ।
यो अवधिमा इन्स्योरेन्सले सेयरधनीलाई न्यूनतम १०.५३ प्रतिशत र अधिकतम ७२.५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । नेशनल लाइफले आर्थिक वर्ष २०७५/७६ मा न्यूनतम १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा बढी ७५.५ प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्कले देखाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०६६/६७ मा २१ प्रतिशत बोनस सेयर बाँडेको थियो । २०६७/६८ मा नेशनल लाइफका सेयरधनीले ३१.५८ प्रतिशत लाभांश पाएका थिए ।
आर्थिक वर्ष २०६८/६९ मा २५ प्रतिशत लाभांश पाएका शेयरधनीले २०६९/७० मा ७२.५ प्रतिशत लाभांश हात पारे ।
कम्पनीले आर्थिक वर्ष २०७०/७१ को मुनाफाबाट ३८ प्रतिशत, २०७१/७२ को नाफाबाट ३१.५८ प्रतिशत, आव २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७३/७४ मा कम्पनीका लगानीकर्ताले १४.५ प्रतिशत र आव २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश पाएका थिए ।
बीमितलाई दिने बोनस दर बढ्दो नेशनल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर बढाउँदै गएको देखिन्छ । आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको तथ्यांकलाई हेर्दा कम्पनीले दिएको बोनस दर बढ्दै गएको देखिन्छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०६८/६९ मा बीमितलाई प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिएको थियो । सो आर्थिक वर्षका लागि कम्पनीले २६ वर्षभन्दा माथिका बीमा अवधिका लागि ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको थियो ।
आर्थिक वर्ष २०६९/७० मा कम्पनीले बीमितलाई न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको थियो ।
उक्त आर्थिक वर्ष पछि कम्पनीले बीमितलाई दिने बोजस दर बढ्दै गएको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ मा न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा बीमितले पाउने बोनस दर फेरि बढ्दै गएको देखिन्छ । सो आर्थिक वर्षका लागि बीमितका लागि कम्पनीले न्यूनतम ६२ रुपैयाँ र अधिकतम ८२ रुपैयाँसम्म बोनस दर तोकेको थियो ।
आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई एउटै बोनस दर कायम गरेको देखिन्छ । यी दुबै आर्थिक वर्षका लागि कम्पनीले बीमितलाई न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका वडा नंं. ६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।
कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । काठमाडौंको गौशलामा कार्यालय रहेको यस कम्पनीले १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) आईपीओ निष्काशन गर्ने भएको हो ।
आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका सम्झौता गरेका हुन् ।
मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।
एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।